काठमाण्डौं/ सार्वजनिक बिदा समावेश नगरी विक्रम सम्वत २०७६ सालको पात्रो प्रकाशन भएको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । समितिले २०७६ सालका लागि तोयनाथ, बाबुराम, नरनाथ, हिमाल, अठोला, तारकेश्वर, सूर्य, आकाश दर्शन, बगलामुखी, शुभ, बाबा गोरखनाथ, कीर्ति र सिद्धि गरी १३ वटा पात्रोलाई स्वीकृति दिएको छ ।

समितिमा सरकारले नियुक्त गरेका धर्मशास्त्रविद् विद्वानको छलफलमा आगामी वर्षको चाडबाड सम्बन्धी निर्णय गरिएकाले स्वीकृत पात्रो प्रयोग गर्न समितिका अध्यक्ष प्राध्यापक डाक्टर रामचन्द्र गौतमले आह्वान गर्नु भएको छ ।

आफूखुशी निस्कने पात्रोका कारण मानिसमा चाडबाड सम्बन्धी भ्रम सिर्जना हुने गरेको छ । गृह मन्त्रालयले २०७६ सालमा दिइने बिदाको सूची उपलब्ध नगराएकाले आगामी वर्ष पनि पात्रोमा सार्वजनिक बिदा समावेश हुन नसकेको उहाँले बताउनुभयो ।

यसअघि २०७४ र २०७५ सालमा पनि सार्वजनिक बिदा नराखी पात्रो प्रकाशन गरिएको थियो । ‘सार्वजनिक बिदा गृह मन्त्रालयले प्रकाशन गरे बमोजिम हुनेछ’ भन्ने सूचना पात्रोमा राखिएको गौतमले जानकारी दिनुभयो ।

समितिमा सरकारले नियुक्त गरेका विद्वान्हरूको समूहले २०७६ सालमा पर्ने चाडपर्वको निर्णय गरी पात्रोमा समावेश गरेको छ । समितिको स्वीकृति नलिई प्रकाशन भएका पञ्चाङ्गमा चाडपर्व फरक पर्ने गरेकाले यस सम्बन्धी कारवाहीका लागि गृह र संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयमा लेखी पठाइएको छ ।

नेपाल संस्कृत विश्वविद्यालयले प्रकाशन गर्ने पात्रोले पनि समितिको स्वीकृति लिने गरेको छैन । विश्वविद्यालय आधिकारिक प्राज्ञिक थलो भएकाले स्वीकृति लिनु नपर्ने अध्यक्ष गौतमले बताउनुभयो ।

Leave a comment

Your email address will not be published. Required fields are marked *