वालिङ – गए राति स्याङ्जामा भएको सवारी दुर्घटनामा चापाकोट नगरपालिकाका पूर्वप्रमुख शिव गिरीको मृत्यु भएको छ । बा१५च १७०९ नम्बरको ‘स्कारपियो’ अनियन्त्रित भई दुर्घटना हुँदा प्रमुख गिरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता रवीन्द्र खनालले जानकारी दिनुभयो । चापाकोट–४ दार्सिङ बस्ने ६० वर्षीय गिरीलाई जिल्ला अस्पताल स्याङ्जाले ११ः४० मा मृत घोषणा गरेको थियो ।
राङखोलाबाट स्याङ्जातर्फ जाँदै गरेको स्कारपियो गए राति ११ बजे पुतलीबजार–१० राङखोलास्थित सिद्धार्थ राजमार्गमा दुर्घटनामा परेको थियो । प्रहरीले पुतलीबजार–९ कोल्मा बस्ने ३२ वर्षीय सवारी चालक सुरज
नेपाली तथा स्कारपियो नियन्त्रणमा लिएको प्रवक्ता खनालले बताउनुभयो ।
हँसिया प्रहार गरी बालकको हत्या
स्याङ्जाको अर्जुनचौपारीमा हँसिया प्रहार गरी एक बालकको हत्या भएको छ । जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता रवीन्द्र खनालका अनुसार अर्जुनचौपारी– ६ सिउँडीबारी बस्ने २१ वर्षीय सुजन चुवाई (सुवेदी) ले हँसिया प्रहार गरी सोही ठाउँ बस्ने ९ वर्षीय बालक हर्षित देवकोटाको हत्या गरेका हुन् । शुक्रबार साँझ हँसिया प्रहार गरी बालकको हत्या गर्ने सुवेदी घटनापश्चात् फरार रहेकोमा प्रहरीले पुतलीबजार–१ बाट पक्राउ गरी अनुसन्धान सुरु गरेको छ । हत्याको कारण खुल्न सकेको छैन ।