अस्पताल आउने क्रम बढ्दै गएको भेरी अस्पतालका वरिष्ठ कन्सल्टेन्ट एनिस्थेसोलोजिस्ट डाक्टर कृष्णप्रसाद आचार्यले बताउनुभयो । उहाँका अनुसार वैशाखको अन्तिमदेखि सर्पदंशका बिरामी अस्पताल आउन थालेका हुन् । एक महिनाको अवधिमा तीनजना गम्भीर प्रकृतिका सर्पदंशका बिरामीलाई उपचार गरी डिस्चार्ज गरिएको डा. आचार्यले बताउनुभयो । उहाँका अनुसार गर्मी बढ्दै गर्दा विशेष गरी करेट र कोब्राले टोकेर विष लागेका बिरामी उपचारका लागि अस्पताल आउने गरेका छन् ।
“विषरहित सर्पले टोकेमा १० देखि १२ घन्टा विष लाग्छ कि भनेर निगरानीमा राख्छौँ । उक्त समयमा विष
लागेको कुनै लक्षण नपाए घर फर्काउने गरेका छौँ”, डा. आचार्यले भन्नुभयो, “विष लागेको अवस्थाका बिरामीलाई उनीहरुको स्वास्थ्य अवस्था हेरेर कम्तीमा दुई हप्तासम्म आइसियू र भेन्टिलेटरमा राखेर सुधार नहुुँदासम्म उपचार गर्छौँ ।” निगरानीमा राखिएका बिरामीलाई विष नलागेको भेटिएमा १२ घन्टापछि सर्पदंशबाट बच्ने उपाय सिकाएर घर पठाउने गरिएको उहाँको भनाइ छ ।
आठ वर्षदेखि सर्पदंशको क्षेत्रमा काम गर्दै आउनुभएका डा. आचार्यले नेपालभरि नै सर्पदंशबाट कसरी बच्ने र सर्पदंश भइसकेको अवस्थामा उपचार कसरी गर्ने भनेर विभिन्न ठाउँमा स्वास्थ्यकर्मीलाई तालिम दिने गरेको बताउनुभयो । उहाँले सर्पदंशबाट बच्नका लागि राति सुत्नुभन्दा पहिला बिस्तरा राम्री झारेर झूल टाँगेरमात्र सुत्ने, भुइँमा नसुत्ने, घर वरपर भएको जङ्गल वा झाडीलाई सफा बनाई राख्ने, सर्पको आहार कुखुरा भएको हुनाले राति कुखुरा कराएको सुनिएमा लाइट बालेरमात्र खोरको चेकजाँच गर्ने, घरमा मुसा छन् भने मुसालाई नियन्त्रण गर्नेलगायत भएको बताउनुभयो ।
बाँकेको राँझास्थित सर्पदंश उपचार केन्द्रमा जेठमा मात्रै तीनजना सर्पदंशका बिरामी आएको स्वास्थ्य प्राविधिक राजन कुँवरले बताउनुभयो । उहाँले विष लागेका दुईजनालाई थप उपचारका लागि नेपालगञ्जको भेरी अस्पतालमा पठाइएको जानकारी दिनुभयो । उहाँका अनुसार भेरी अस्पताल पठाइएकामा नेपालगञ्ज उपमहानगरपालिका-१९ मोहनपुरका मुनसिङ सार्की र डुडुवा गाउँपालिका–५ नानपुरकी सरिता लामिछाने मगर हुनुहुन्छ ।
जानकी गाउँपालिका-६ का रमावती भाटालाई विषरहित सर्पले टोकेकाले उहाँलाई केन्द्रबाटै प्रारम्भिक उपचार गरी घर फर्काइएको स्वास्थ्य प्राविधिक कुँवरले बताउनुभयो । उहाँका अनुसार गत वर्ष १० जना सर्पदंशका बिरामी उपचारका लागि केन्द्रमा आएका थिए । समुदाय र नेपाल आर्मीको सहकार्यमा स्थानीयलाई सर्पदशं सम्बन्धी उपचार गर्ने उद्देश्यले केन्द्रको स्थापना गरिएको उहाँले बताउनुभयो ।
त्यस्तै, बाँकेको शम्शेरगञ्जस्थित सर्पदंश उपचार केन्द्रमा पनि जेठमा दुई जना सर्पदंशका बिरामी उपचारका लागि आएको अहेव नन्दलाल पाण्डेले जानकारी दिनुभयो । उहाँका अनुसार बाँकेको राप्तिसोनारी गाउँपालिका-८ जिरो बजारकी पप्पीकुमारी बोहोरालाई सर्पले टोकेको थियो । “पप्पीलाई सर्पको विष लागेको कुनै लक्षण नदेखिए पछि १० घन्टाको निगरानीपछि सर्पबाट बच्ने उपाय सम्झाएर घर पठाएका हौँ”, उहाँले भन्नुभयो ।
सोही केन्द्रमा सर्पदंशको उपचार गर्न राप्तिसोनारी गाउँपालिका-१ कुसुमकी कमला वली जेठको २३ गते आउनुभएकी अहेव पाण्डेले बताउनुभयो । उहाँका अनुसार वलीलाई विषालु सर्पले नटोकेकाले विष लागेको कुनै लक्षण नदेखिएपछि १० घन्टा निगरानीमा राखेपछि घर फर्काइएको थियो । पाण्डेका अनुसार अघिल्लो वर्ष वैशाखदेखि भदौसम्ममा ३५ जना सर्पदंशका बिरामी उपचारका लागि आएका थिए । गर्मी याममा बढी सर्पदंशका बिरामी आउने भन्दै यो सङ्ख्या अझै बढ्ने उहाँको भनाइ थियो । राँझा र शम्शेरगञ्जमा विषरहित बिरामीको उपचार गरिन्छ भने विष लागेका बिरामीलाई भेरी अस्पताल पठाउने गरिएको छ ।