भएकाले पहिले–पहिले झिसमिसे अगावै रथ जुधाइने गरिएको थियो । विशेषतः काम–क्रिडासँग सरोकार राख्ने जात्रा भएकाले मध्यरातदेखि झिसमिसेको बीचमा समापन गर्नुपर्ने मान्यता रहिआए पनि पछिल्ला केही वर्षदेखि देवता रुपी रथलाई दिउँसो जुधाउने गरिएको छ ।
जात्राको परम्पराअनुसार विशेष पूजामा सामग्री, सुकुण्डा बोकेर कर्माचार्य (आचाजू)हरू सुस्तरी हिँड्नुपर्छ । यो परम्परालाई नेवारी भाषामा न्ह्यायकेगू भन्ने भनिन्छ । कर्माचार्य खोलापारि गोरखनाथ पुगेपछि नाग आसनबाट उठ्ने भएकाले ती नागराजाको कृपाले पानी र रोपाइँ सफल हुने जनविश्वास गरिन्छ । कुनै वर्ष कारणवश जात्रा रोकेमा पनौतीमा ठुलो
अनिष्ट हुने, खडेरीले दुःख दिनेजस्ता आध्यात्मिक विश्वास मनमा पाल्नेले जात्रालाई निरन्तरता दिएको विश्वास गरिँदै आइएको छ ।
अर्को रोचक प्रसङ्ग, मान्यताअनुसार जात्रामा चिउली र केरा खाएर घुम किन्नै पर्छ । यसपछि यी सामग्रीको बिक्री सुरु हुने पनि जनविश्वास छ । जात्रामा चिउली चपाएर जिब्रो पड्काउँदै युवायुवती हौसिएका देखिन्छन् । स्थानीयले जात्रा अवधिभर आफ्ना पाहुना बोलाई स्वागत सत्कारकासाथ भोज गरिन्छ । भोजका लागि प्रत्येक घरमा बलि दिने प्रथा अझै कायम रहेको बताइन्छ ।
जात्रा अवधिभर स्थानीय फोटो पत्रकारले काभे्रपलाञ्चोकको सम्पदा, प्रकृति, संस्कृति तथा पर्यटकीय क्षेत्रको फोटो प्रदर्शनी गर्ने गर्छन् । स्थानीय मुख्य पर्व जनाउँदै पनौती हिलेजात्राको अन्तिम दिन नगरपालिका कार्यालयले नगरमा सार्वजनिक बिदासमेत दिने गरेको छ ।
किंवदन्तीअनुसार राजा प्रताप मल्लले रानीपोखरी बनाइसकेपछि विभिन्न तीर्थस्थलको जल राख्ने क्रममा पनौतीस्थित त्रिवेणीघाटको जल पनि राखेको शिलालेखमा उल्लेख छ । तीन नदीको सङ्गम स्थल त्रिवेणी घाटमा पुण्यमाता र रोशी खोलाबाहेक पद्मावती नदी गुप्त रूपमा बहिरहेको मान्यता छ ।
भारतको प्रयागमा गङ्गा र यमुना नदीको सङ्गममा गुप्त रूपले सरस्वती मिसन नदी बहेझैँ पनौतीस्थित रोशीलाई रुद्रावती नदी, पुण्यमाता नदीलाई लीलावती र गुप्त रूपले बहेकी ब्रह्मायणी मन्दिरको मुनिबाट दूध बग्ने नदीलाई पद्मावती मानिँदै आइएको छ ।रासस