नेपाली क्रिकेट टोलीले दुई महिनायता तीनवटा सफलता हासिल गरेको छ । नेपालले सङ्कटमा परेको एकदिवसीय मान्यता आगामी चार वर्षका लागि सुरक्षित गरेको छ । एक दिवसीय विश्वकप छनोटमा स्थान पक्का गरेको छ र जितपछि टेस्ट मान्यता प्राप्त पाँच देशसित खेल्न एशिया कपका लागि छनोट भएको छ । नेपालको सपना एशिया कपसम्म मात्र सीमित नहुने क्यान अध्यक्ष चन्द बताउनुहुन्छ । उहाँको भनाइ छ, “नेपालको अबको लक्ष्य विश्वकपमा सहभागिता हो ।”
क्रिकेटको माहोल राम्रो हुँदै गएकोमा क्यान सन्तुष्ट छ । नयाँ नयाँ
प्रतिभा देशभर उत्पादन हुने क्रम जारी छ । व्यक्तिगत लगाव र अभिभावकको लगानीका कारण यो सम्भव भएको हो । खेलाडी उत्पादनमा सरकारी उत्पादन न्यून छ भन्दा हुन्छ । यसतर्फ सङ्घीय, प्रदेश र स्थानीय सरकारको ध्यान अनिवार्यरूपमा जानुपर्छ । नेपाललाई खेल पर्यटनका माध्यमबाट पनि विश्वमाझ चिनाउनमा मद्दत पुग्ने निश्चित छ । यसका लागि तीनै तहका सरकारले होस्टेमा हैँसे गर्न जरुरी छ । यसो हुन सकेको खण्डमा नेपाल अब क्रिकेटका माध्यमबाट पनि विश्वभर चिनिने छ ।