काठमाडौँ – नेकपा एमालेका उपमहासचिव विष्णु रिमालले अयोग्य, लडाकु र भत्तामा राजनीति नगर्न सरकारलाई सुझाव दिनुभएको छ ।
आज बिहान सामाजिक सञ्जालमा लेख्दै उपमहासचिव रिमालले मुलुकको अर्थतन्त्र धरमराई रहेको बेला अयोग्य, लडाकु र भत्तामा राजनीति नगर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सुझाव दिनुभएको हो ।
‘प्रधानमन्त्री ज्यू, मुलुकको अर्थतन्त्र यति नराम्रोसँग धरमराई रहेको बेला यस्तै निर्णय गर्ने हो र ? द्वन्द्वबाट भविष्य बर्बाद पारिएका युवा–स्वाभिमानलाई अझै नचिमोटौं । मानवीय संवेदनासँग नखेलौं !, उहाँले लेख्नुभएको छ, “अयोग्य, लडाकु र भत्ता” जस्ता विषयमा “राजनीति”
नगरौं प्लिज !
यसअघि शान्ति प्रक्रियाको क्रममा “अयोग्य” भनिएकाहरूलाई केही राहत दिइएको भन्दै उहाँले फेरि २०७८ को बजेटमार्फत करिब १ अर्ब भुक्तानी गरिएको पनि जानकारी गराउनुभएको छ ।
‘सुनिँदैछ, सरकारले प्रदेश र स्थानीय तहमा पठाउनु पर्ने ४४ अर्ब समानिकरण अनुदानमा आधा कटौती गऱ्यो रे ! परिणाम–प्रदेश र स्थानीय तहका कर्मचारीको तलब र अनिवार्य दायित्वमा हुने खर्च अब रोकिने छ,’ उहाँले थप लेख्नुभएको छ, ‘जनता नुन किन्न सकिरहेका छैनन् । बजारको सर्वे गर्नुस्–सर्वसाधारणले प्रयोग गर्ने आन्तरिक वस्त्रको समेत बिक्री घटेको छ ।’
अनिवार्य दायित्वभित्रको कूल १ खर्ब २० अर्ब भुक्तानी गर्न बाँकी रहेको उहाँले उल्लेख गर्नुभएको छ ।