आइतवार, जेष्ठ २१, २०८० | Sunday 4th June 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • लटरम्म फूलेको आँपमा फड्के किराको प्रकोप
समाचार

लटरम्म फूलेको आँपमा फड्के किराको प्रकोप

  • pranil मङ्लबार, चैत्र १४, २०७९ | March 28, 2023

धनगढी / कैलालीमा यसवर्ष आँपको राम्रै फल लाग्ने आंकलन गरिए पनि फूलमै रोग देखिएका कारण त्यो आ‌ंकलन गलत हुन सक्ने देखिएको छ । व्यावसायिक आँप खेतीमा ढुसी लाग्न थालेपछि किसान चिन्तित भएका छन् । आँपको फलमा फड्केकिराको प्रकोप लाग्न थालेकाले जिल्लाका किसान चिन्तित् बनेका हुन् । आँपको पात नै नदेखिने गरी बोटै ढपक्क ढाकेर फूल फुल्दा खुसी भए पनि अहिले फड्के किराका कारण ढुसी लाग्न थालेकाले चिन्ता बढेको गेटास्थित आँप कृषक रामहरी ओझाले बताए ।

उनका अनुसार मधुवा किराले खाएर गुलियो लेसिलो

पदार्थ आँपको मजुरा फूलमा ओकलेपछि मजुराफूलमा ढुसी लागेर झर्ने र दाना नलाग्ने समस्या बढ्न थालेको हो । ‘पहाडमा लालीगुराँस फुलेझैँ आँपमा ढकमक्क मजुराफूल फूलेको देख्दा मन रमाएको थियो तर फूलमा ढूसी लागेर कालो बनाएको छ, जसका कारण् आसा गरेजस्तो आँप नफल्ने भएको छ,’ उनले भने ।

धनगढी–३का भोजराम चौधरीले पनि आफ्नो १० कठ्ठा जमिनमा लगाएको आँपका बोटमा मधुवा किराको प्रकोप देखिएको बताए । उनले मधुवाका कारण मजुराफूल झरेर दाना नलागेकाले यसवर्ष आर्थिक समस्यामा परिने हो कि चिन्ताले पिरोलिरहेको बताए । चौधरीको आँप बगैँचामा पनि मधुवाको प्रकोप देखिएको छ । फागुन महिनाको अन्तिम सातादेखि मजुराफूलमा मधुवा किराको प्रकोप देखिएकामा अहिले ढुसी देखिन थालेको उनको भनाइ थियो ।

धनगढी–१२ का जीवन शर्माले पनि आँपको पूलकै ढूसी पलाएको बताए । ‘लहलह फूल देखेर रहर लागेको थियो,’ शर्माले भने, ‘तर अहिले फूल पूरै ढडेर कालो भएको छ, यस्तो पहिला देखिएको थिएन, यस पटक के रोगलागेछ पत्तै भएन ।’ घरमा एक दुई वटा मात्रै रुख भएका कारण औषधी वा विषादी खरिदको चक्करमा भने नलागेको उनले बताए ।

कृषि ज्ञानकेन्द्र कैलालीका प्रमुख खगुन्द्र शर्माले भने रोगका किरा र ढुसी लाग्न नदिन सुरुमै किराको प्रकोप नियन्त्रणको उपाय अपनाउन सके फूललाई बचाउन सकिने बताए । त्यसका लागि किरा मार्ने र ढुसी नष्ट गर्ने विषादी छर्कनुपर्ने कार्यालय प्रमुख शर्माले बताए । किरा मार्न बजारमा नीमले बनाएको औषधी पाइने भए पनि ढुसीका लागि भने विषादी नै प्रयोग गर्नुपर्ने उनले बताए । ‘ढुसी लाग्न सुरु हुनेवित्तिकै विषदी प्रयोग गर्न सके फललाई बचाउन सकिने उनले बताए । तर, रोग लागिसकेपछि भने विषादी प्रयोग गरेर पनि केही फाइदा नहुने उनले बताए ।

मजुराफूल फुल्नुअघि आँपको रुखको जरा वरिपरी खनेर पानी हाल्ने र फेददेखि ३ फिट माथिसम्मको भागमा चुन दल्ने प्राकृतिक उपचारले पनि मधुवा किराको प्रकोप रोक्न सकिने कृषि ज्ञान केन्द्रका प्रमुख शर्माले बताए । उनले भने, ‘जिल्लाका प्रायः अधिकांश किसानले प्राविधिक ज्ञानबिना नै विषादी प्रयोग गर्छन्, जुन पसलबाट विषादी ल्याएको हो, त्यही पसलेको सल्लाहअनुसार विषादी प्रयोग गर्दा कहिलेकाहीँ फल झर्ने र फूल डढ्नेजस्ता समस्यासमेत देखिने गर्छ ।’

मधुवा किराको प्रकोप देखापरेपछि विषादीबाहेक अर्को विकल्प नरहेकाले पीडित किसानले प्रक्रिया पुर्‍याइ कार्यालयमा आएमा औषधि एवम् प्राविधिक सहयोग उपलब्ध गराइने कृषि ज्ञान केन्द्र कैलालीले जनाएको छ । विषादी र रोग नियन्त्रणका लागि कृषि विज्ञसँग सुझाल लग्न कृषि ज्ञान केन्द्र कैलालीका प्रमुख शर्माले सुझाव दिएका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय