काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले लामो त्याग र बलिदानबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्र र संविधानमाथिको खतरा अहिले पनि नटरेको बताएका छन् । शनिबार दिउँसो बालुवाटारमा महेन्द्रनारायण निधिको १०१ औँ जन्मजयन्तीको अवसरमा आयोजित ‘समसामयिक नेपाली राजनीति र निधिजीको विचार’ विषयक विचार गोष्ठीमा बोल्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् । शुक्रबार संसदमा प्रतिनिधित्व गर्ने आठ दलबिच भएको सहमति राष्ट्रिय सहमतिकै प्रारूप भएको उनको भनाई छ ।
उनले भने, ‘हिजो संसदका आठ दलबिच जुन सहमति भएको छ, त्यो ऐतिहासिक छ। त्यो राष्ट्रिय
सहमतिकै प्रारूप हो। संसदको सबैभन्दा ठूलो दलबाट राष्ट्रपति निर्वाचित हुन्छ। दोस्रो ठूलो दलको सभामुख र राष्ट्रिय सभाको अध्यक्ष छ। तेस्रो दलको प्रधानमन्त्री छ। संसदका अरू दलहरूबिच पनि समझदारीका साथ अगाडि बढेका छौँ। यो प्रक्रियाबाट हामी कोही पनि बाहिर छैनौँ, यो एकप्रकारले राष्ट्रिय सहमति नै हो।’
नयाँ सरकार गठनपछि केही सूचक सकारात्मक देखिए पनि अर्थतन्त्र संकटमुक्त नभएको उनले बताए । उनले भन ‘फागुन ७ गते संविधानले नचिनेका नारा लागे। त्यो गम्भीर कुरा छ। हिजो जसरी संसद विघटन गरियो, संविधानमाथि आक्रमण गरियो। त्यो प्रवृत्ति अन्त्य भइसकेको छैन। त्यसैले पनि लोकतान्त्रिक मूल्य मान्यता र संविधानका पक्षधर शक्तिहरू एकठाउँ उभिनुपर्छ, उभिएका छौँ।’