महतले फेरि राजतन्त्र फर्काउने कुरा पूर्वराजाको “रहर” मात्रै हुने टिप्पणी गरे।
‘राजनीतिमा ठाउँ दिनुपर्छ’
नेपालमा राजतन्त्र पुनर्स्थापना र हिन्दूराष्ट्रको वकालत गर्दै आएको राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता मोहन श्रेष्ठले आफ्नो दल शाहसँग सहकार्य गर्न तयार हुने बताए।शाहलाई पनि राजनीतिमा ठाउँ दिनुपर्ने उनको भनाइ छ।
“हाम्रो दलले कठिन दिनमा पनि राजसंस्था पुनर्स्थापनाका लागि आवाज उठाइरहेको भएकाले यसलाई सकारात्मक लिने नै भयो। राजाको सन्देशलाई अरू दलहरूले पनि गम्भीरतापूर्वक लिएर अभिभावकीय भूमिका दिनुपर्छ भन्ने हाम्रो भनाइ छ,” उनले भने।
राप्रपाले नेपालमा “षड्यन्त्रपूर्वक” गणतन्त्र
घोषणा गरिएको आरोप लगाउँदै आएको छ। श्रेष्ठले पूर्वराजालाई दलहरूले निषेध गरिरहेको तर जनताले स्वागत गर्ने गरेको दाबी गरे।
‘भूमिका खोजिरहेका’ पूर्वराजा
देशसञ्चार डटकमका सम्पादक युवराज घिमिरे पूर्वराजासँग भेट गर्ने विभिन्न राजनीतिक दलसँग आबद्ध व्यक्तिहरूले उनको भूमिका औँल्याइदिएका कारण पनि राजाले यस्तो वक्तव्य दिएको हुनसक्ने बताउँछन्।“बाहिर देखाउँदैनन् तर मुख्य पार्टीकै मान्छेहरू गएर उनलाई भेटिरहेका छन्। त्यसकारण उनलाई ‘मेरो भूमिका छ’ भन्ने लागेको हुनसक्छ,” सम्पादक घिमिरे भन्छन्।
“राष्ट्रपतिको चुनावको आसपास सरकार, गठबन्धन भत्कन सक्छ। एउटा अराजकता पनि आउन सक्छ। उनलाई बोल्ने समय यही हो भन्ने लाग्यो होला।”पार्टीहरू असफल हुँदा जनताको स्वाभाविक सान्त्वना पूर्वराजाले पाइरहेको उनको ठम्याइ छ।
नेपालमा राजतन्त्र हटाइपछि भएका संविधान निर्माण र शान्ति प्रक्रिया अघि बढाउने काममा पूर्वराजालाई संलग्न नगराएका कारण पनि राजनीतिक असन्तुष्टिको विकल्पका रूपमा राजतन्त्रको भूमिका कतिपयले औँल्याउने गरेको घिमिरे बताउँछन्।
दलहरूका कामगराइप्रति असन्तुष्टि देखिएका समयमा उनी पूर्वराजाको प्रस्तावलाई सकारात्मक रूपमा लिन सकिने बताउँछन्।“उनले मलाई भूमिका देऊ भनेनन्। हामी सहकार्य गरौँ भने त्यो एउटा राम्रै सुरुवात हो जस्तो लाग्छ मलाई चाहिँ,” उनले भने।
पूर्वराजाले राजतन्त्रबारे पनि दलहरूसँग छलफल चलाउन खोजेको आफूले आकलन गरे पनि त्यसका लागि दलहरू अझैसम्म तयार नदेखिएको घिमिरेले बताए।“पार्टीहरू अहिले पनि छलफलका लागि तयार छैनन्। यसलाई खतरा मानेर पार्टीहरू एक हुनुपर्छ भन्ने पनि हुनसक्छ। तर उनीहरूबीच बढ्दो अविश्वासले त्यो पनि सहज चाहिँ छैन,” घिमिरेले भने।
माओवादीको दश वर्षे सशस्त्र द्वन्द्वकालमा युद्धको एक पक्ष रहेको राजतन्त्रका प्रतिनिधिलाई शान्ति पक्रियामा नसमेटिका कारण नेपालमा शान्ति प्रक्रिया निष्कर्षमा पुग्न नसकिरहेको उनले ठम्याइ छ।यो समाचार बीबीसी नेपालीबाट साभार गरिएको हो ।