देखाएको छ। रुसमा जारको निरङ्कुश शासन, फ्रान्समा लुई सोहौँको निरङ्कुश शासन, बेलायतको गौरवमय क्रान्ति यसका केही उदाहरण हुन्,’ महरले भने।
नेपालमा लोकतन्त्रको स्थापना भएपछि जनताको आर्थिक जीवनस्तरमा जसरी परिवर्तन हुनुपर्नेमा त्यसो हुन नसके पनि धेरै सकारात्मक प्रभावहरू भने पक्कै परेको महरले दाबी गरे। जनताले मौलिक हकको निर्वाधरुपमा उपयोग गर्न पाउनु नै सबैभन्दा ठूलो उपलब्धि भएको उनको भनाइ छ। ‘जनताले चित्त नबुझेका कुराहरूमा आफ्नो आवाज पनि उठाउन सक्दछन् । विकासका लागि नयाँ सोच र अवधारणा आउनुका साथै सुशासन र जनउत्तरदायित्वको बहसले
पनि ठाउँ पाएको छ । विकासमा जनताको सहभागिता र समान सहभागिता सुनिश्चित गर्नुपर्ने मान्यताले स्थापित भएको छ,’ उनले भने।
२००७ साल फागुन ७ गते प्रजातन्त्र स्थापना भएको सम्झनामा आज देशभर विभिन्न कार्यक्रम गरी ७३औं राष्ट्रिय प्रजातन्त्र दिवस मनाइँदै छ। जनक्रान्तिका माध्यमबाट राणा शासन अन्त्य गरी देशमा प्रजातन्त्र घोषणा भएको दिनको गौरवलाई सम्मान गर्दै सरकारले फागुन ७ गते औपचारिक समारोहका साथ दिवस मनाउँदै आएको छ।
प्रजातन्त्र स्थापनाका लागि भएको सङ्घर्षकै क्रममा शुक्रराज शास्त्री, दशरथ चन्द, धर्मभक्त माथेमा र गङ्गालाल श्रेष्ठले विसं १९९७ माघमा जीवनको आहुति दिएका थिए। नेपाली राष्ट्रिय कांग्रेस र नेपाल प्रजातन्त्र कांग्रेसको २००६ सालमा एकीकरणपछि बनेको नेपाली कांग्रेसका संस्थापक नेता बिपी कोइरालाको नेतृत्वमा भएको आन्दोलनले नेपालमा २००७ फागुन ७ गते प्रजातन्त्र स्थापना भएको मानिन्छ।
फागुन ७ मा प्रजातन्त्र स्थापना भएको सम्झनामा सरकारले प्रत्येक वर्ष संघीय राजधानीको टुँडिखेलमा औपचारिक कार्यक्रमको आयोजना गरी विशेष रूपमा दिवस मनाउँदै आएको छ। आज सरकारले प्रजातन्त्र दिवसको अवसरमा सार्वजनिक बिदा पनि दिएको छ।