मकवानपुरकाे हेटौंडा उपमहानगरपालिका-१० बसपार्कस्थित होटलबाट नियन्त्रित लागुऔषध कोडिविल एकसय एमएलको ५० बोतलसहित बारा निजगढ नगरपालिका-७ बस्ने २८ वर्षीया सुस्मा तिमल्सिना समेत २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
उक्त होटलमा लागुऔषध बिक्री वितरण भइरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले तलासी गर्दा उनीहरूलाई उक्त लागुऔषध सहित फेला पारी पक्राउ गरेको हो । साथै उनीहरूले प्रयोग गरेको ना.३७ प ६७०३ नम्बरको मोटरसाइकल समेत प्रहरीले बरामद गरेको छ ।
उदयपुरकाे कटारी नगरपालिका-४ कटारीबाट नियन्त्रित लागुऔषध नाईट्राभेट २ सय ६५ ट्याब्लेट, लुपिजेसिक ४०
एम्पुल, डाईजेपाम ४२ एम्पुल र एल्जिक ७ एम्पुल सहित सोही ठाउँ बस्ने ३७ वर्षीय हरिकृष्ण सुनुवार समेत २ जनालाई प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय कटारीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागुऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
यसैगरी उदयपुर, उदयपुरगढी गाउँपालिका-७ दमाईकोटेबाट अवैध लागुऔषध गाँजा करिब २० केजी प्रहरीले बरामद गरेको छ । अस्थायी प्रहरी पोष्ट नेपालटारबाट खटिएको गस्ती टोलीलाई देख्नसाथ नेपालटारतर्फ आउँदै गरेको स.१० प ७१५३ र स.७ प १५२३ नम्बरका मोटरसाइकल छोडी मोटरसाइकलमा सवार व्यक्तिहरू फरार भएपश्चात मोटरसाइकल जाँच गर्दा उक्त लागूऔषध फेला पारी बरामद गरेको हो । फरार व्यक्तिहरुको प्रहरीले खोजी गरिरहेको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।