तयारी खाद्यवस्तुको परीक्षण चालु आवमा करिब पाँच हजारको गरे पनि खाद्यन्नको परीक्षण गरेका छैनौँ । खाद्यान्न पनि भैरहवा भन्सार नाकाबाट आयात भइरहेका छन् । तर भन्सारले नमुना विश्लेष्णका लागि नपठाएकोले हालसम्म कुनै खाद्यान्नको परीक्षण भएको छैन ।’
यस भन्सारबाट आउने खाद्यन्नको गुणस्तर परीक्षण नहुने भएकोले तस्करी र खुला सीमाबाट आउने खाद्यन्न सरह हुने गरेका छन् । गुणस्तरहीन खाद्यन्न पनि सहजै नेपाल भित्रिएर उपभोक्ताले प्रयोग गरिरहेका छन् । जसले उपभाेक्ताकाे स्वास्थ्यमा गम्भीर असर परिरहेकाे छ ।
भन्सार जाँचपास अनलाइनबाट हुने भन्सार प्रमुखकाे दाबी
भैरहवा
भन्सार कार्यालयका प्रमुख मनिराम पौडेलले भैरहवा भन्सार कार्यालयले अनलाइन प्रणालीमार्फत भन्सार जाँचपास गर्ने गरेको बताए । भन्सारको एकीकृत प्रणालीमा खाद्य गुणस्तर परीक्षणको अनलाइन प्रणाली समाविष्ट भएअनुसार नाकाबाट भित्रिएने खाद्यवस्तुको प्लान्ट र विषादी परीक्षण हुने गरेको बताए । परीक्षणविना भन्सार जाँचपासको प्रक्रिया सुरु नहुने उनकाे दाबी छ ।
कृषि मन्त्रालयअन्तर्गतको खाद्य प्रमाणिकरण कार्यालय र प्लान्ट क्वारेन्टिनको कार्यविभाजनका कारण परीक्षणमा केही समस्या आएको छ । कृषि मन्त्रालयले भन्सार विभागलाई अफलाइनबाट परीक्षण गर्न भने विभागको परिपत्रअनुसार खाद्यन्नको गुणस्तर पनि परिक्षण गर्ने उनले बताए । उनले भने, ‘सिस्टममा त्यो व्यवस्था नभएकोले कृषि मन्त्रालयको विवाद हामीमाथि दोषारोपण गर्न खोजियाे । ‘
प्लान्ट क्वारेन्टिन तथा कीटनाशक व्यवस्थापन केन्द्र भैरहवाका प्रमुख कुलदीप घिमिरेले रोग किरा र झारपात जस्ता क्वारेन्टिन परीक्षण मात्रै गर्ने गरेको बताए । खाद्य वस्तुको गुणस्तर हेर्ने काम आफ्नाे नभएको र गुणस्तर हेर्न पनि नभनिएको उनले बताए । खाद्यान्नमा विष, छ वा रंग मिसाइएको छ छैन भनेर हेर्न विशेषज्ञ नहुने उनकाे भनाइ छ ।