काठमाडौं– नेपाल दूरसञ्चार प्राधिकरणको स्वीकृत बजेटबाट सञ्चार तथा सूचना प्रविधिमन्त्रीका लागि सवारी साधन खरिद गरिएको छ। महालेखा परीक्षकको कार्यालयका अनुसार कानुन विपरीत उक्त सवारी खरिद गरिएको हो।
प्राधिकरणको बजेटबाट २ करोड ५ लाख २५ हजार रुपैयाँमा मन्त्रीका लागि एक थान जीप खरिद गरी मन्त्रालयलाई हस्तान्तरण गरिएको महालेखा परीक्षकको ५९औं प्रतिवेदनमा उल्लेख छ।
प्राधिकरणको स्वीकृत कार्यक्रमअनुसार सवारी साधन खरिदमा २ करोड रुपैयाँ बजेट व्यवस्था भए पनि २०७७ पुस १६ को मन्त्रीस्तरीय निर्णयबाट मन्त्रीका लागि २ करोड ५ लाख २५
हजारमा एक थान जीप खरिद गरी मन्त्रालयलाई हस्तान्तरण गरिएको छ।
त्यतिबेला मन्त्रालयमा पार्वत गुरुङ सञ्चारमन्त्री थिए। उनकै सेटिङमा प्राधिकरणको पैसामा गाडी खरिद गरेको पाइएको हो।
प्राधिकरणको स्वीकृत बजेटबाट मन्त्रीलाई सवारीसाधन खरिदका लागि खर्च गर्नु कानुनसम्मत नभएको महालेखाको ठहर छ। यस प्रकारको खर्चमा नियन्त्रण गर्नसमेत महालेखाले सुझाएको छ।