काठमाडौं- काठमाडौंको चन्द्रागिरिको जङ्गलबाट तीन विदेशी नागरिकको उद्धार गरिएको छ। शनिबार साँझ जंगलमा विदेशी हराएको भन्ने सूचनाका आधारमा प्रहरी वृत्त थानकोटबाट खटिएको टोलीले उनीहरुलाई सकुशल उद्धार गरेको हो।
उक्त स्थान थानकोटबाट करिब सात किलोमिटर टाढा थानकोट–चित्लाङ सडकखण्ड नजिक रहेको प्रहरीले जनाएको छ।
उनीहरुलाई भीरमा फसेको अवस्थामा फेला पारी उद्धार गरिएको हो। यसरी उद्धार गरिएकामा अमेरिकाका ३४ वर्षीय डग्लस रोवे, भारत चण्डिगढका ३० वर्षीय नवप्रित ढिलोन र मुम्बईका माधव गुप्ता रहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जानकारी दिएको छ।