काठमाडौँ — दाङमा रासायनिक मलको अभाव देखिएको छ । खेतीपातीको समय नजिकिँदै गर्दा रासायनिक मलको अभाव हुँदा किसानलाई सास्ती भएको छ ।
धानको बीउका लागि ब्याड राख्नुपर्ने र मकैमा पनि मल आवश्यक पर्ने भएपनि अहिले मल अभाव हुँदा समस्या भएको तुलसीपुर उपमहानगरपालिका–१६ का किसान यज्ञबहादुर चौधरीले बताए ।
‘गएको वर्ष पनि समयमै मल नपाएपछि युरिया मलबिना मकै गोडेका हौं, मलबिना धान रोप्यौ”, उनले भने, ‘यस वर्ष पनि समस्या त्यस्तै छ ।’
मल पाउने आशामा किसान दैनिक सहकारी संस्थामा धाउने गरेका
छन् । मल अभावका कारण समयमै खेतीपाती गर्न नपाएमा उत्पादन पनि घट्ने किसानको चिन्ता रहेको छ ।
किसानको माग अनुसार रासायनिक मल उपलब्ध गराउन नसकेकोे कृषि सामग्री कम्पनी लिमिटेड तुलसीपुर शाखा प्रमुख तीर्थराज न्यौपानेले बताए । ‘आलोपालो गरेर सहकारीमार्फत रासायनिक मल वितरण गर्दै आएको भए पनि अझै अभाव छ,’ उनले भने ।
नेपालमा वार्षिक आठ लाख मेट्रिक टन रासायनिक मल आवश्यकता पर्ने भए पनि वार्षिक तीनदेखि चार लाख मेट्रिक टन मात्रै रासायनिक मल आयात हुने भएकाले पनि मल अभाव हुने गरेको छ ।
दाङमा मात्रै सबै बालीको लागि वार्षिक युरिया १५ हजार मेट्रिक टन
र डिएपी १० हजार मेट्रिक टन आवश्यक पर्छ । कोभिडपछि अन्तर्राष्ट्रिय बजारमा रासायनिक मलको मूल्य ३०० देखि ३५० प्रतिशतले वृद्धि भएको छ ।
न्यौपानेले मल खरिदका लागि यो वर्ष कृषि सामग्री कम्पनी लिमिटेडले आठ वटा अन्तर्राष्ट्रियस्तरका ग्लोबल टेण्डर गरे पनि नपरेकाले पनि समस्या भएको हो । अहिले नेपाल सरकारले ५० हजार मेट्रिक टन मल आयातको लागि बोलपत्र गरेकाले असार महिनाभित्र मल प्राप्त हुने अपेक्षा गरिएको छ ।
बोलपत्र नपरे पनि सरकारले भारतबाट (जिटुजी) अन्तर्गत मल आयात गर्ने सहमति भएकाले धानखेतीको समयमा मलको हाहाकार नहुने न्यौपानेको दाबी छ ।
दाङका लागि कृषि ज्ञान केन्द्रले ४९७ मेट्रिक टन मल उपलब्ध गराएको थियो । दाङका तीन वटा कृषि सामग्री कम्पनीबाट ती मल वितरण गरिन्छ । कृषि सामग्री कम्पनी लिमिटेड तुलसीपुरका लागि २२६ मेट्रिक टन डिएपी मल आवश्यक पर्नेमा ५०/६० टन मात्रै आउन बाँकी रहेको प्रमुख न्यौपानेले बताए ।
कृषि सामग्री लिमिटेड तुलसीपुरले तुलसीपुर उपमहानगरपालिका, शान्तिनगर गाउँपालिका, दङ्गीशरण गाउँपालिका र बबई गाउँपालिकासँग समन्वय गरेर वितरण गरिरहेको छ ।
त्यस्तै अहिले दाङमा डिएपी मल केही मात्रामा पाइए पनि युरिया मल भने जिल्लामै नभएको कृषि सामग्री कम्पनी लिमिटेड तुलसीपुर शाखाले जनाएको छ ।
अहिले दाङलगायत देशैभरि युरिया मलको अभाव छ । तर साल्टट्रेडिङ कर्पोरेशनबाट युरिया र डिएपी मल ल्याउने प्रक्रिया भइरहेको न्यौपानले बताए ।