काठमाडौँ — सर्वाधिक लोकप्रिय सामाजिक सञ्जाल फेसबुक कम्पनी मेटाकी प्रमुख कार्यसञ्चालन अधिकृत सिओओ शेरिल स्याण्डबर्गले पदबाट राजीनामा दिएकी छिन् । पछिल्लो १४ वर्षदेखि उक्त पदमा रहेकी शेरिलले बुधबार राजीनामाको घोषणा गरेकी हुन् । एक फेसबुक पोस्ट मार्फत उनले अब जीवनको नयाँ अध्यायको समय आएको बताएकी छिन् ।
शेरिल स्याण्डबर्ग फेसबुक स्थापना भएको ४ वर्षपछि सन् २००८ मा कम्पनीसँग जोडिएकी थिइन् । आफ्नो लामो कार्यकालमा उनले फेसबुकको डिजिटल विज्ञापन व्यवसायलाई निकै उत्कृष्ट ढंगले सम्हालिन् र कम्पनीलाई नयाँ उचाइँमा पुर्याइन् ।
फेसबुकलाई
१०० अर्ब डलरको कम्पनीसम्म पूराउनका लागि उनले अहम भूमिका खेलेकी थिइन् । सोही कारण उनी फेसबुक सीईओ मार्क जुकरबर्गपछि कम्पनीमा दोश्रो वरिष्ठ अधिकारीको रुपमा कार्यरत थिइन् । मेटाको सिओओ पदबाट राजीनामा दिएपनि कम्पनीको बोर्ड अफ डाइरेक्टर्सको सदस्यको रुपमा भने काम गरिरहने ५२ वर्षकी स्याण्डबर्गले बताएकी छिन् ।
उनले फेसबुकमा लेखेकी छिन्, ‘भविष्यमा के हुन्छ भन्ने कुरा यकिनसाथ त म भन्न सकिदैन तर मैले मेरो प्रतिष्ठान तथा परोपकारी कार्यमा ध्यान केन्द्रित गर्ने कार्य यसमा सामेल हुनेछ जुन मेरोलागि पहिलेदेखि नै निकै महत्वपूर्ण छ किनकी यस्तो कार्य महिलाका लागि निकै महत्वपूर्ण छ ।’
फेसबुक कम्पनीमा जोडिनु अगाडि स्याण्डबर्ग गुगलमा काम गर्दथिन् । फेसबुकमा आएसँगै युवा सीईओ मार्क जुकरबर्गसँग मिलेर फेसबुकलाई लाभहीन सोसल नेटवर्किङ साइटबाट माथि उठाएर नाफामूलक कम्पनीको रुपमा अगाडि बढाउनु उनको लक्ष्य थियो ।
उनले उक्त लक्ष्य पूरा गर्दै फेसबुकलाई विज्ञापन दिग्गज बनाउन सहयोग गरिन् र गुगल पछि विज्ञापनबाट धेरै कमाउने कम्पनीको दोश्रो स्थानमा फेसबुक आउन सफल भयो । प्रयोगकर्ताको संख्याको आधारमा पनि फेसबुकले चमत्कार गर्यो । फेसबुकका प्रयोगकर्ताको संख्या अहिले करीब ३ अर्ब छ ।