बारा । स्थानीय तहको निर्वाचनमा पार्टीको उम्मेदवारलाई पराजित गर्न भूमिका खेलेको भन्दै नेपाली कांग्रेस निजगढ र कोल्हबीले कार्यकर्तामाथि काराबाही गर्न पार्टीको केन्द्रीय अनुशासन समितिमा सिफारिस गरेको छ ।
स्थानीय तहको निर्वाचनमा पार्टीको उम्मेदवारलाई पराजित गर्न भूमिका खेलेको भन्दै नेपाली कांग्रेस निजगढ नगर समितिले तीनजना महासमिति सदस्यसहित सात जना नेता कार्यकर्तामाथि काराबाही गर्न पार्टीको केन्द्रीय अनुशासन समितिमा सिफारिस गरेको हाे ।
नगर समितिले महासमिति सदस्यहरू शम्भुबहादुर बुढाथोकी, पदमबहादुर भण्डारी, महेशी कुँवर, जिल्ला कार्यसमितिका सदस्य कृष्णप्रसाद खरेल, महाधिवेशन प्रतिनिधि रामकुमारी गोले, बारा
क्षेत्र नम्बर- १ क्षेत्रीय समितिका सहसचिव प्रदिपकुमार उप्रेती र जिल्ला कार्यसमितिका पूर्वसदस्य रामचन्द्र जैसवाललाई कारबाही गर्न सिफारिस गरेको हो ।
नेकपा माओवादीसँग गठबन्धन गरेर निर्वाचनमा उत्रिएका निवर्तमान मेयरसमेत रहेका खनाल नेकपा एमालेका उम्मेदवार सुरथ पुरीसँग पराजित भएका थिए भने गठबन्धनबाट उपमेयर पदका उम्मेदवार माओवादीका रवि दङ्गाल पनि एमालेकी सोममाया थिङ्गसँग पराजित भए ।
नगरप्रमुख पदमा पराजित बने पनि कांग्रेसले निजगढमा यो निर्वाचनमा ८ वटामा वडा अध्यक्ष पद जितेको छ । यसअघि कांग्रेसले निजगढका ५ वटा वडामा मात्रै जित हात पारेको थियो ।
त्यसैगरी नेपाली कांग्रेश कोल्हबीले पनि वडा नम्बर १ मा पार्टीबाट वडा अध्यक्षका उम्मेदवार त्रियोगी राउत थारुलाई अन्तर्घात गरेर हराएको भन्दै नगर सभापति विरेन्द्रप्रसाद चौधरीलाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको छ ।
कोल्हबीका कांग्रेस कार्यकर्ता भेलाले कांग्रेस नगर सभापति विरेन्द्र र उनका छोरा नेविसंघको आदिवासी जनजाति संयोजक समिर चौधरीलाई पार्टीका उम्मेदवार राउत थारुलाई अन्तर्घात गरेर हराएको आरोपमा साधारण सदस्यसमेत नरहने गरी कारबाही गर्ने निर्णय गरेको हो ।
नगरपालिकाको वडा नम्बर १ बाट नेकपा एमालेका उम्मेदवार राजहरण चौधरी विजयी बनेपछि कांग्रेसभित्र अन्तर्घातको बहश सुरु भएको हो ।