*बलात्कार सम्बन्धी कानून संशोधन गर्न संसद्लाई अनुरोध*
बलात्कार सहेर बाँचेका महिलाले जीवनभर त्यसको चोट महसुस गर्छन् । उनीहरूका लागि जिन्दगीको सबैभन्दा त्रासद् क्षणमा पुगेर समयको घडी ठप्प रोकिएजस्तो हुन्छ । यसैले, बलात्कारको पीडाबारे बोल्ने र कानूनी उपचार खोज्ने कुनै समय सीमा हुनु हुँदैन ।
बलात्कार सहेर बाँचेकाहरूलाई आफ्नो पीडाबारे सार्वजनिक रूपमा बोल्न समय लाग्छ । न्यायको लडाइँ सुरू गर्ने साहस जुटाउन धेरै वर्ष पनि लाग्न सक्छ ।
अन्य राष्ट्रहरूले दशकौंपछि पनि बाल यौन दुराचारी र बलात्कारीहरुमाथि अभियोग लगाउन र
कानूनी कठघरामा ल्याउन अनुमति दिने समय सीमा रहेका कानूनहरू परिवर्तन गरेका छन्। अपराध सबै अपराधनै हुन्, कुनै अपराधमा २० औं बर्षपछि पनि अभियोग लगाउन सकिन्छ भने बालात्कारीलाई एक बर्षभित्र अभियोग लगाउनुपर्ने समयसिमा किन ? नेपालले पनि अब कानून परिवर्तन गर्दै समय सीमा हटाई महिलालाई सुरक्षाको प्रत्याभूति दिन ढिला गर्नु हुँदैन ।
हालै एक जना बैनीले आफूमाथि भएको बलात्कारको पीडाबारे सार्वजनिक रूपमा बोल्ने हिम्मत गरिन् । म उनको साहसलाई कदर गर्छु । उनी र उनीजस्ता बालिका एवं महिलालाई बलात्कार र अन्य महिला हिंसाबाट बचाउन म नेपाल सरकार र विषेशगरी महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय र राष्ट्रिय महिला आयोगलाई बलात्कारको कानून संशोधनको लागि समिति गठन गरेर संशोधनको प्रक्रिया जतिसक्दो चाँडै अघि बढाउन र संसद्लाई उक्त कानून फाष्टट्रयाकबाट पारित गर्न अनुरोध गर्दछु।
डा. आरजु राणा देउवा
केन्द्रिय सदस्य, नेपाली कॉंग्रेस