काठमाडौं– केही बेर अघिमात्रै सुरु भएको काठमाडौं महानगरको नयाँ वडाको मत गणनामा केशव स्थापित झिनो मतान्तरले सबैभन्दा अगाडि देखिएका छन्। बौद्ध आसपास पर्ने वडा नम्बर ६ को मतगणनाको प्रारम्भिक अपडेटअनुसार स्थापितले २० मत ल्याउँदा त्यहाँ सिंहको १८ र बालेनको १७ मत पुगेको छ।
यो वडामा अघिल्लो स्थानिय चुनावमा नेपाली कांग्रेसले ३६१५ मत ल्याएर वडाअध्यक्ष जितेको थियो। प्रतिष्पर्धी एमालेका उम्मेद्वारले ३००६ मत प्राप्त गरेको थिए। यो वडामा बालेनको सुरुवात कमजोर देखिए पनि समग्र वडाको परिणाममा भने उनले मतान्तर झन् बढाइरहेका
छन् पछिल्लो अपडेट अनुसार उनी एमालेका प्रतिष्पर्धी उम्मेद्वार केशव स्थापित भन्दा ३५ सय मतले अगाडि छन्। बालेनले ७३३९ मत ल्याउँदा स्थापितको मत ३८६२ पुगेको छ। स्थापितलाई पछ्याइरहेकी कांग्रेसकी उम्मेद्वार सिर्जना सिंहको मत भने ३३५८ छ।
अहिले वडा नम्बर ३, ४, ५, ६, ३१ र ३२ को मतगणना जारी छ। वडा नम्बर १ र २ को भने मतगणना सकिएर परिणाम नै आइसकेको छ। दुवै वडामा बालेनले नै धेरै मत ल्याएका छन्। वडा नम्बर १ मा बालेनले ७८३ मत ल्याए भने वडा नम्बर २ मा २१२० मत ल्याएका छन्।
यस्तै वडा नम्बर ३ मा बालेनले १२०४ मत ल्याउँदा स्थापितले ६३९ र सिंहले ५९५ मत प्राप्त गरेकी छन्। वडा नम्बर ४ मा भने बालेनले १४६८ मत प्राप्त गर्दा स्थापितले ६८७ र सिंहले ६०३ मत प्राप्त गरेकी छन्। वडा नम्बरमा ५ बालेनको ४७८ मत आउँदा स्थापितको ३०६ र सिर्जनाको २१८ छ।
वडा नम्बर ३१ मा भने बालेनले ६०७ मत ल्याउँदा स्थापितको ३८९, सिर्जनाको ३५४ मत छ। वडा नम्बर ३२ मा बालेनको मत अत्याधिक देखिन्छ। उनले १५६२ मत ल्याउँदा स्थापितको ७२८ र सिंहको ६२२ मत छ।