काठमाडौँ — भारतीय सुरक्षाकर्मी एसपिजी स्पेशल प्रोटेक्सन गार्ड लिएर भारतीय वायुसेनाको विमान भैरहवामा अवतरण गरेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बुद्ध जयन्तीका दिन गर्ने लुम्बिनी भ्रमणको सुरक्षा व्यवस्था मिलाउन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा भारतीय वायुसेनाको विमान अवतरण गरेको हो । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता श्याम किशोर साहका अनुसार भारतीय वायुसेनाको इलुसियन विमान आईसी–७६ ले कुटनीतिक उडान गरेको छ ।
दिल्लीबाट सोझै भैरहवा आएको यो विमानमा एसपिजीको टोली आएको हो । भारतीय प्रधानमन्त्री यहि जेठ २ गते लुम्बिनी आउँदैछन् । उनको
भ्रमणपूर्व सुरक्षा व्यवस्था मिलाउन भारतीय सुरक्षाकर्मी लुम्बिनी आइपुगेका हुन् । उनीहरुलाई छोडेर विमान आजै फिर्ता जाने गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता साहले जनाए ।
मोदीलाई लुम्बिनीमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाले स्वागत गर्ने कार्यक्रम छ । मोदीले करिब डेढ बिघा जमिनमा निर्माण भइरहेको भारतीय मठको पनि उद्घाटन गर्ने कार्यक्रम रहेको छ । मायादेवी मन्दिर र अखंड ज्योति दर्शन पछि मोदी कुशीनगर फर्किने कार्यक्रम छ । मोदी चार वर्षपछि नेपाल आउँदै छन् । यसअघि सन् २०१८ मा उनले नेपाल भ्रमण गरेका थिए ।