विराटनगर- आसन्न स्थानीय तह निर्वाचनलाई लक्षित गरेर नेपाली कांग्रेसले बुधबार विराटनगरमा चुनावी सभा गर्दै छ।
विराटनगरमा हुने सभालाई प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री विश्वप्रकाश शर्मा लगायतले सम्बोधन गर्ने कार्यक्रम छ। कांग्रेस मोरङका उपसभापति भक्तिनाथ माझीले विराटनगरको पुष्पलाल चोकमा चुनावी सभा राखिएको जानकारी दिए।
सभाका लागि मञ्च व्यवस्थापनदेखि लिएर सबै तयारी पूरा भइसकेको उनको भनाइ छ। माझीका अनुसार चुनावी सभा कांग्रेस एक्लैले गर्न लागेको हो। स्थानीय निर्वाचनमा गठबन्धन गरेर गए पनि चुनावी सभा भने
कांग्रेस एक्लैले गर्ने भएको छ।
गठबन्धनबाट विराटनगर महानगरपालिकाको मेयरमा कांग्रेसका नागेश कोइराला र उपमेयरमा जनता समाजवादी पार्टी (जसपा)का अमरेन्द्र यादवको उम्मेदवारी परेको छ। गठबन्धन गरेर निर्वाचनमा होमिए पनि चुनाव लक्षित कार्यक्रम भने कांग्रेस एक्लैले अघि बढाइरहेको छ।
विराटनगरबाट कांग्रेसले देशव्यापी चुनावी सभाको सुरुवात गर्न लागेको हो। मुलुकका सात वटै प्रदेशमा चुनावी सभा गर्ने कांग्रेसको तयारी छ।