काठमाडौँ — राप्रपाको कावासोती नगरपालिका–१६ का वडाध्यक्षका उम्मेदवार सुमन भट्टको घर र राप्रपाको वडा कार्यालयमा आगजनी भएको छ । शुक्रबार राति नचिनेको मानिसहरुको समूहले भट्टको घर र कार्यालयमा आगजनी गरेको राप्रपाले जनाएको छ । राप्रपा प्रवक्ता मोहन श्रेष्ठले शनिबार विज्ञप्ति जारी गरी घटनाको सत्य तथ्य छानबिन गरी दोषी पत्ता लगाउन र दोषीलाई कारबाही गर्न माग गरेका छन् ।
त्यस्तै राप्रपाबाट गोकर्णेश्वर नगरपालिका–५ का वडाध्यक्षका उम्मेदवार सन्तोष अर्याललाई केही व्यक्तिले ज्यान मार्ने धम्की दिएका छन् । राप्रपा प्रवक्ता श्रेष्ठका अनुसार हालै
नेपाली कांग्रेस छाडेर राप्रपा प्रवेश गरेका अर्याललाई केही परिचित व्यक्तिले नै कांग्रेस हराउन हिडेको भन्दै ज्यान मार्ने धम्की दिएका हुन् । राप्रपाले राजनीतिक दल छान्ने व्यक्तिको अधिकारमाथि धावा बोल्ने काम सह्य नहुने भन्दै यसबारे स्थानीय प्रशासनलाई जानकारी गराएको बताएको छ ।