काठमाडौँ — गृहमन्त्री बालकृष्ण खाँणले सुरक्षा निकायमा भर्ना हुँदा म्यादी प्रहरीलाई प्राथमिकतामा राख्न सुरक्षा निकायका प्रमुखहरुलाई निर्देशन दिएका छन् । गृह मन्त्रालयमा आज भर्चुअल माध्यमबाट भएको स्थानीय तह निर्वाचनसम्बन्धी सुरक्षा गोष्ठीमा नेपाली सेनाका रथी बालकृष्ण कार्की, नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापा क्षेत्री, सशस्त्र प्रहरी बलका महानिरीक्षक पुष्पराम केसी र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख यदुलाल खरेलले मन्त्री खाँणले निर्देशन दिएका हुन् ।
‘स्थानीय निर्वाचनका लागि सरकारले एक लाख म्यादी प्रहरी भर्ना गरेको छ । उनीहरू निर्वाचनमा सुरक्षा दिँदा नयाँभन्दा अनुभवी हुन्छन्
र आगामी दिनमा सुरक्षा निकायले नयाँ भर्ना लिँदा मापदण्ड अनुरुप भएमा उनीहरूलाई प्राथमिकतामा राख्नुहोला’, खाँणले भने । निर्वाचन सुरक्षाको क्रममा देखिएका चुनौतीहरू उपलब्ध स्रोत साधनको उच्चतम प्रयोग गरेर सामाना गर्न पनि मन्त्री खाणको निर्देशन छ । गोष्ठीमा गृहसचिव टेकनारायण पाण्डेले निर्वाचनको सुरक्षा र निष्पक्षता सरकारको मुख्य लक्ष्य भएको बताए ।