काठमाडौँ — बुटवलमा तीन सय ८३ तोला सुन र नगद पाँच लाख चोरी भएको छ । बिपी चोकमा रहेको नन्दराम सुनारको सुनचाँदी पसलबाट करिब पाँच करोड मूल्यबराबरको गरगहना र नगद पाँच लाख चोरी भएको छ ।
उक्त पसलबाट तीन सय ६० तोलाका तयारी गहना र २३ तोला काँचो सुन चोरी भएको व्यवसायीहरूले आज पत्रकार सम्मेलन गरेर बताएका छन् ।घटनाबारे प्रहरीले अनुसन्धान जारी राखेको बताएको छ । सिसीक्यामेरा फुटेज हेरेर अनुसन्धान सुरू गरिएको छ । पसल राख्न भन्दै घर भाडामा लिएर
उक्त व्यक्तिहरूले चोरी गरेको आशंका छ ।
योगेन्द्र अग्रहरिको घर भाडामा लिएर उनीहरूले कपडा पसल राख्न डेकोरेसनको कामसमेत थालेका थिए । भारतीय नागरिकहरू चोरीमा संलग्न रहेको आशंका छ । कपडा पसल राख्न भाडामा लिएकै घरमा सुन पसल पनि थियो ।
सुनचाँदी व्यवसायी संघ रूपन्देहीका अध्यक्ष रामकृष्ण विश्वकर्माले यो चोरीको घटना रूपन्देहीमा अहिलेसम्मकै ठूलो भएको बताए । पटकपटक सुनचाँदी पसलमा चोरी हुने घटना भए पनि संलग्नहरू पक्राउ नपरेको व्यवसायीहरू बताउँछन् ।
यसअघि सैनामैना रानीबगियामा सुन पसलमा लुटपाट गर्न आएकाहरूले व्यवसायीलाई आक्रमण गरी घाइते बनाएका थिए । बुद्धनगरमा एक महिलाको सुन लुटेको घटना पनि सार्वजनिक भएको थियो । जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रहरी नायब उपरीक्षक नवरत्न पौडेलले सुन चोरी गर्नेहरूको खोजि भइरहेको बताए ।