काठमाडौं - एमालेले काठमाडौं महानगरपालिकाको मेयरमा चर्चित एवं विवादास्पद पात्र केशव स्थापितलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।
शनिबार रातिसम्म बालकोटमा बसेको एमाले केन्द्रीय सचिवालय बैठकले पाँचवटै महानगरपालिकाको मेयरको उम्मेदवार तोकेको हो ।
जसमा काठमाडौंमा स्थापित, ललितपुरमा हरिकृष्ण व्यञ्जनकार, पोखरामा दिपक पौडेल, भरतपुरमा विजय सुवेदी र वीरगन्जमा विजय सरावगीलाई उम्मेदवार बनाएको छ । विराटजगर महानगरमा भने टुंगो लगाउन बाँकी छ ।
तर काठमाडौं महानगरपालिकामा भने बागमती प्रदेश सभा सदस्य स्थापितलाई उम्मेदवार बनाउने निर्णयमा एमाले पुग्नुलाई आश्चर्य मानिएको छ । जबकि
काठमाडौंको पूर्वमेयर भइसकेका स्थापितको अहिले कुनै लोकप्रियता छैन ।
पार्टी संगठनमा पनि उनको पकड छैन । उनले एकताका एमालेसमेत छाडेका थिए । तिनै व्यक्तिलाई एमालेले काठमाडौंको मेयरको उम्मेदवार बनाउनुले सो पार्टीमा अब योग्य र क्षमतावान नेताको खडेरी देखिएको छ ।
विवादास्पद व्यक्तिलाई मेयरको उम्मेदवार सिफारिस गरेपछि काठमाडौं महानगर एमालेमा असन्तुष्टि उत्पन्न भएको छ । स्थापित पटकपटक विवादमा परेका नेता हुन् । उनी यौनकाण्डमा समेत मुछिएका थिए ।
पत्रकार रश्मिला प्रजापतिले स्थापितले आफूमाथि यौन दुव्र्यवहार गरेको आरोप लगाएपछि उनले ०७५ कात्तिकमा बागमती प्रदेशको भौतिक योजना तथा निर्माण मन्त्रीबाट राजीनामा दिनुपरेको थियो ।
रश्मिलाले काठमाडौं महानगरपालिकाको मेयर पदमा हुँदा स्थापितले आफूमाथि यौन प्रस्ताव गरेको र अस्वीकार गर्दा आफ्नो जागिर नै गएको खुलासा गरेकी थिइन् ।
उनले १५ वर्षअघि भएको उक्त ह्यारेसमेन्टबारे यसअघि पनि विभिन्न मिडियालाई बताएको सामाजिक सञ्जालमार्फत उल्लेख गरेकी छिन् । उनले भनेकी थिइन्, ‘१५ वर्ष भयो त्यो घटना घटेको तर पनि उक्त व्यक्तिबाट नै अन्य महिलाहरु ह्यारेस भएको कुरा मैले पढेकी छु । उनी अझै महिलाहरुलाई ह्यारेस गरिरहेका छन् मलाई थाहा छ ।
दर्जनभन्दा बढी महिलाहरुलाई उनले ह्यारेस गरेका छन् । कति त मेरो फेसबुकको लिस्टमा पनि छन् हामी बोल्न नसक्ने होइनौं । हामी हाम्रो आवाज उठाउन सक्छौं । हामी संसारलाई चिनाउन चाहन्छौं कि भौतिक योजना तथा निर्माण मन्त्री केशव स्थापित सेक्सुअल प्रेडेटर हो ।’
तर, स्थापित भने यो विषयलाई अस्वीकार गर्दै आएका छन् । उनले भनेका थिए– ‘मैले उनलाई यौन प्रस्ताव गर्दा जागिर खुस्काईएको होइन, अरु नै कारणले जागिरबाट निकालिएको हो । उनी दोस्रो पटक कन्ट्रयाकमा जागिर खान आएकी थिईन् । त्यतिबेला उनको जागिर खुस्किएको हो ।’