काठमाडौँ – नजिकिँदै गरको स्थानीय तहको चुनावमा उम्मेदवारी सिफारिस शुल्क उठाउन थालेको गुनासो आएपछि नेपाली कांग्रेसले उम्मेदवारी सिफारिस गर्दा विधानविपरीत रकम माग नगर्न निर्देशन दिएको छ।
केन्द्रीय कार्यालयले आइतबार प्रदेश कार्यसमिति र जिल्ला कार्यसमितिलाई परिपत्र गरेर उम्मेदवारी सिफारिस गर्न विधानविपरीत रकम माग नगर्न निर्देशन दिएको हो।
केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा हस्ताक्षरित परिपत्रको विषयमा ‘उम्मेदवारी सिफरिस गर्दा विधान तथा नियमावलीविपरीत कुनै प्रकारको रकम माग नगर्ने-नगराउने’ राखिएको छ।
कांग्रेसको विधान २०१७ (संशोधनसहित) तथा कांग्रेसको नियमावली २०७६ मा गरिएको व्यवस्थाअनुसार पार्टीका
क्रियाशील सदस्य र लाभको पदमा रहेका पार्टीका सदस्यले पार्टीलाई बुझाउनु पर्ने सदस्यता शुल्क तथा सहयोग रकम (लेबी) बाहेक अन्य कुनै पनि किसिमको रकम लिन नपाउने व्यवस्था छ।
तर, विभिन्न जिल्ला अन्तर्गतका कांग्रेस केन्द्रीय कार्यसमिति मातहतका निकायले स्थानीय तह निर्वाचनका विभिन्न पदका लागि उम्मेदवारको सिफरिस गर्दा शुल्क निर्धारण गरेका थिए।
उम्मेदवारी सिफारिस शुल्क निर्धारण गरिएको गुनासो आएपछि केन्द्रीय कार्यसमितिले मातहतलाई परिपत्र गरेको हो।
परिपत्रमा विभिन्न पदीय जिम्मेवारी र लाभको पदमा रहेका पार्टी सदस्यबाट विधान तथा नियमावली बमोजिम लिनुपर्ने सदस्यता शुल्क तथा लेबी लिन भनिएको छ।
‘उठाउन बाँकी भए त्यस्तो रकम तत्काल उठाउन हुन जानकारी गराइन्छ,’ परिपत्रमा भनिएको छ, ‘सोबाहेक उम्मेदवार सिफारिस गर्दा कुनै पनि तहको कार्यसमितिले अन्य कुनै पनि प्रकारको रकम माग गर्न-उठाउनु विधानविपरीत हुने भएकाले त्यस्तो कार्य नगर्न नगराउन हुन समेत निर्देशनानुसार अनुरोध गरिन्छ।’