काठमाडौँ — नेपाली नयाँ वर्ष वैशाख १ गते अस्ट्रेलियामा आतिशबाजी गर्ने भएको छ । यस अवसरमा अस्ट्रेलियामा आतिशबाजी गरिने भएको छ । नयाँ वर्षको पहिलो दिन १ वैशाख अर्थात १४ अप्रिल २०२२ मा अस्ट्रेलियाको राजधानी क्यानबेरास्थित लेनक्स गार्डेन्समा आतिशबाजीसहित नयाँ वर्ष मनाउन लागिएको हो । सनातन समाज अस्ट्रेलियाले क्यानबेरामा आतिशबाजी गर्दै नयाँ वर्ष मनाउन लागेको हो । अध्ययन, रोजगारलगायत विभिन्न उद्देश्यले अस्ट्रेलिया पुगेका नेपालीहरूको क्यानबेरामा बाक्लो उपस्थिति रहेको छ ।
अस्ट्रेलियामा लामो समयदेखि थुप्रै नेपालीहरू बस्दै आइरहेका छन् । तर,
भारतसँग सिमाना र संस्कृति दुवै जोडिएका कारण अधिकांश नेपाल र नेपालीको छुट्टै पहिचान नरहेको सनातन समाज अस्ट्रेलियाका अध्यक्ष सन्तोष मल्लले बताए । त्यसैकारण नेपाल र नेपालीको विशेष दिनको अवसर पारेर आतिशबाजी गर्न लागिएको उनले जानकारी दिए । नेपाली र भारतीयको संस्कार, संस्कृति र चाडपर्वहरू समान छन् । जसकारण यहाँ नेपालीलाई पनि भारतीय नै मान्नेहरूको जमात ठूलै छ, र हाम्रो आफ्नै पहिचान बन्नसकेको छैन,’ आयोजक सनातन समाज अस्ट्रेलियाका अध्यक्ष सन्तोष मल्लले भने, ‘त्यसैले नेपाली र भारतीय फरक हुन् । हाम्रो आफ्नै संस्कृति छ । चाल चलनहरू छन्, आफ्नै पात्रो र नयाँ वर्ष छ भनेर जानकारी दिनलाई नयाँ वर्षलाई आतिशबाजीसहित विशेष दिनको रुपमा, सांस्कृतिक पात्रोको पहिलो दिनको रुपमा मनाउन लागेका हौं ।