काठमाडौँ — काठमाडौंको मेयर पदमा उम्मेदवारी घोषणा गरेका अभिनेता भुवन केसीले उम्मेदवारी नदिने बताएका छन् । स्वागत नेपाल अध्यक्ष रहेको उन्नत लोकतन्त्र पार्टीले केसीलाई मेयरको उम्मेदवार बनाउने भन्दै घोषणा गरेको थियो । तर एक साता नबित्दै अभिनेता केसीले आफ्नो फेसबुकमार्फत् आफू अहिले उम्मदेवार बन्न असमर्थ रहेको जानकारी दिएका छन् । फेसबुकमार्फत् विज्ञप्ति जारी गर्दै उनले आफू प्राविधिक तथा कार्यव्यस्तताका कारण उम्मेदवार बन्न असमर्थ रहेको बताए ।
तर यसबीचमा आफूमाथि टिप्पणी र अनर्गल प्रचार गर्नेहरूलाई पनि उनले आभार प्रकट गरेका छन्
। साथै कलाकारले पनि जनप्रतिनिधिको रुपमा जनताको सेवा गर्न सक्तैन भन्ने टिप्पणी आएको देख्दा चाहिँ आफू खिन्न भएको उनको भनाइ छ । मैले यो काठमाडौं उपत्यकाको पुस्तैनी रुपमा सम्पदा, समस्या र सम्भावनाहरूलाई मनैदेखि आत्मसात गरेको छु । त्यसैले यस महानगरको मेयरको रुपमा कुनै कलाकारले जनताको सेवा गर्ने ईच्छा राख्नु अस्वाभाविक होइन भन्नेमा पनि विश्वस्त छु । तर एउटा कलाकारले जनप्रतिनिधिको रुपमा जनताको सेवा गर्ने सक्तैन भन्ने प्रकारका टिप्पणीहरु आएको देख्दा चाहिँ अझै पनि नेपाली समाजमा राजनीतिप्रतिको एकलकाँटे दृष्टिकोण कति जबरजस्त रहेछ भन्ने बुझेर म खिन्न पनि भएको छु, केसीले लेखेका छन् ।