काठमाडौँ — नेपाल रेल सेवाको औपचारिक उद्घाटन आज हुँदैछ । प्रधानमन्त्री शेरबहादुर देउवा र भारतका समकक्षी नरेन्द्र मोदीले आज दिउँसो साढे १२ बजे नयाँ दिल्लीस्थित हैदरावाद हाउसबाट रेल सेवाको अर्चुअल उद्घाटन गर्ने कार्यक्रम छ ।
यसअघि नै संचालनमा आएको सो रेल सेवा विस्तारसहित पुनः संचालनका ल्याउन लागिएको हो । जयनगरमा अति विशिष्ट व्यक्तिहरु रहने र त्यहाँबाट प्रोजेक्टरमा दिल्लीमा हुने उद्घाटन कार्यक्रम देखाइनेछ। उद्घाटन गरेपछि रेल कुर्थाका लागि प्रस्थान गर्नेछ ।
प्रत्येक स्टेशनमा स्कुलका बालबालिकाहरु नेपाल भारतको झण्डा लिएर रेलको स्वागत
गर्नेछन् । उनीहरुलाई समेत त्यही रेलमा चढाएर कुर्था ल्याइनेछ । कुर्थामा भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादवले रेल चढेर जनकपुरसम्म आउने र उद्घाटनको अन्य कार्यक्रम गरिने कार्यतालिका छ । आज उद्घाटन भएपछि भोलिदेखि नै तालिकाअनुसार धनुषाको कुर्थादेखि भारतको जयनगरसम्म नियमित रेल चल्ने नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरञ्जन झाले बताए ।
आइतबारबाट बिहान साढे ८ बजे जयनगरबाट कुर्थाका लागि रेल चल्ने छ भने दुई घण्टापछि कुर्था स्टेसनमा पुग्नेछ । महाप्रबन्धक झाका अनुसार जनकपुरधामको कुर्थाबाट पौने ११ बजे जयनगरका लागि निस्किने रेल साढे १२ बजे जयनगर स्टेसनमा पुग्ने बताए ।
जयनगर गएको रेल पुनः ३ बजे फर्केर आउने छ भने बिहान साढे ८ बजे जयनगरबाट आएको रेल ५ बजेर १५ मिनेटमा फर्कने गरी रेल्वेको समय निर्धारण गरिएको बताए । रेल नियमित रूपमा सञ्चालन हुने र नेपाल सरकारले खरिद गरेको दुई सेट डेमो रेल फागुन १ गते देखि ‘ड्राइरन’ गर्दै आएको छ। सुरुमा दिनहुँ एक पटक चलाए पनि चैत १ गतेदेखि एक दिनको बिताएर यात्रुबिना सञ्चालन हुँदै आएको थियो ।