काठमाडौं– बलेफी हाइड्रोपावर लिमिटेडले यही चैत १६ गतेदेखि सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) बिक्री खुला गर्न लागेको छ। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ मूल्यमा १८ करोड २७ लाख ९७ हजारबराबरको १८ लाख २७ हजार ९७० कित्ता आईपीओ बिक्री खुला गर्न लागेको हो।
कम्पनीले गर्न लागेको कुल निष्कासनबाट ४ प्रतिशत अर्थात ७३ हजार ११९ कित्ता कम्पनीका कर्मचारीलाई, ५ प्रतिशत अर्थात ९१ हजार ३९८ कित्ता सेयर सामूहिक लगानी कोषलाई छुट्याई बाँकी रहेको १६ लाख ६३ हजार ४५३ कित्ता सेयर सर्वसाधारणलाई निष्कासन गर्ने छ।
उक्त आईपीओमा सर्वसाधारणले बुधबार बैंकिङ कारोबार सुरु भएदेखि चैत २१ गते बैंकिङ कारोबार समयसम्म आवेदन दिन सक्नेछन्। कम्पनीले ढिलोमा चैत ३० गतेसम्म आईपीओ भर्ने मिति सार्वजनिक गरेको छ।
यसअघि कम्पनीले सिन्धुपाल्चोक जिल्लाका वासिन्दालाई आयोजना प्रभावित क्षेत्रको लागि छुट्याउनुपर्ने व्यवस्था बमोजिम सेयर निष्कासन तथा बिक्री खुला गरी बाँडफाँटसमेत गरिसकेको छ।
कम्पनीले हाल सिन्धुपाल्चोकको जुगल गाउँपालिका क्षेत्रमा पर्ने बलेफी खोलामा ३६ मेगावाट क्षमताको बलेफी हाइड्रोपावर आयोजना निर्माण गरिरहेको छ। कम्पनीका अनुसार यो आयोजना निर्माणको लागि अनुमानित लागत ७ अर्ब ६५ करोड रहेको छ।