क्यानडाले विश्वकप फुटबलमा स्थान बनाएको छ। उत्तर तथा मध्य अमेरिकी क्षेत्रको छनाेटअन्तर्गत आइतबार राति भएको खेलमा जमैकालाई ४–० ले पराजित गरेको क्यानडा पछिल्लो ३६ वर्षमा पहिलोपटक विश्वकपमा स्थान बनाउन सफल भएको हो।
टोरोन्टोमा भएको खेलमा जीत निकालेसँगै उत्तर तथा मध्य अमेरिकी क्षेत्रको छनाेटमा तीन शीर्ष स्थानमध्ये एकमा क्यानडा रहने पक्का भएको हो। यो वर्ष कतारमा विश्वकप फुटबल हुँदैछ।
क्यानडाले पछिल्लोपटक सन् १९८६ मा मेक्सिकोमा भएको विश्वकप खेलेको थियो। सो विश्वकपमा क्यानडाले गोल गर्न सकेको थिएन र समूहको पुछारमा रहेको थियो।
अमेरिका, मेक्सिको, कोस्टा रिका र पानामा सिधै छनाेट हुन अब बाँकी दुई स्थानका लागि प्रतिस्पर्धामा छन्। ८ राष्ट्र रहेको समूहमा चौथो स्थानमा रहने टिमले सोलोमन आइल्याण्ड र न्यूजिल्याण्डबीचको खेलको विजेतासँग प्लेअफ खेल्ने छ।