काठमाडौं– बैंक तथा वित्तीय संस्थाहरुले चालू आर्थिक वर्षको चैत ११ गतेसम्ममा ५० खर्बभन्दा बढी स्थायी तरलता सुविधा (एसएलएफ) चलाएका छन्।
राष्ट्र बैंकका अनुसार पछिल्लो एक हप्तामा मात्रै बैंक तथा वित्तीय संस्थाहरुले २ खर्ब ७३ अर्ब ५४ करोड रुपैयाँ एसएलएफ लिएका छन्। तरलता संकटका बेला बैंंकहरु थप समस्यामा नपरुन् भनेर राष्ट्र बैंकले एक हप्ताका लागि ७ प्रतिशतका दरले एसएलएफ प्रदान गर्ने गरेको छ।
तरलता अभाव चर्कंदै गएपछि बैंकहरुसँग राष्ट्र बैंकले तोकेको अनिवार्य नगद मौज्दात (सीआरआर) राख्ने रकम पनि नभएपछि एसएलएफ
लिनका लागि बैंकहरु राष्ट्र बैंकको शरणमा पुगेका हुन्। पछिल्लो समय औसत प्रतिदिन २१ बैंक तथा वित्तीय संस्थाहरुले ३९ अर्बको हाराहारीमा एसएलएफ सुविधा लिइरहेका छन्।
गत आइतबार बैंक तथा वित्तीय संस्थाहरुले ४७ अर्ब ९७ करोड ८० लाख रुपैयाँ, सोमबार ५१ अर्ब ५४ करोड ९५ लाख, मंगलबार ४१ अर्ब ७७ करोड ६० लाख र बुधबार ५९ अर्ब ५५ करोड १५ लाख रुपैयाँ एलएलएफ चलाएको नेपाल राष्ट्र बैंकले जनाएको छ।
त्यस्तै बिहीबार ५० अर्ब २६ करोड र शुक्रबार २२ अर्ब ४२ करोड ५० लाख रुपैयाँ बराबरको एसएलएफ सुविधा राष्ट्र बैंकले उपलव्ध गराएको छ। बैंक तथा वित्तीय संस्थाहरुले तरलताको चरम अभाव भएपछि राष्ट्र बैंकबाट एसएलएफ सुविधा लिएर व्यवस्थापन गरिरहेका छन्। प्रत्येक हप्तामा नवीकरण गर्नुपर्ने यो सुविधा ७ खर्ब रुपैयाँ बराबरसम्म लिन सकिन्छ। मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामार्फत एसएलएफमा लिइने व्याजदर पनि बढाइएको छ।
पहिले ५ प्रतिशतमा उपलव्ध हुने एसएलएफलाई बैंकहरुले अहिले ७ प्रतिशत तिरिरहेका छन्। राष्ट्र बैंकबाट लिएको यो रकम कर्जा लगानी गर्न पाइँदैन, मौज्दात राख्नुपर्छ।