काठमाडौं– दुईवटा भ्रातृ संस्थाका अध्यक्ष चयनप्रति असन्तुष्टि बढेपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेता शेखर कोइरालासँग एक्लै कुरा गरेका छन्। कोइराला र देउवाबीच आज बिहान ९ बजे वान टु वान वार्ता भएको हो।
उपसभापति धनराज गुरूङ, महामन्त्री गगन थापा, नेताहरू चन्द्र भण्डारी र मिनेन्द्र रिजाललाई लिएर बालुवाटार जाने तयारीमा थिए शेखर। तर उनकालाई उनकै समूहका नेताहरूले वान टु वान गर्न सुझाव दिएको शेखरका स्वकीय सचिव दिनेशचन्द्र थपलियाले बताए।
भेटमा शेखरले देउवासँग भ्रातृ संस्थाको नेतृत्व चयन गर्दा सल्लाह नगरेकोमा
असन्तुष्टि व्यक्त गरेका थिए। देउवाले भने शेखर समूहले भ्रातृ संस्थाका समानन्तर समिति बनाउने समाचार बाहिरिएको भन्दै चासो राखेका थिए। जवाफमा कोइरालाले ‘एकलौटी गर्ने हो भने सडकमा जानुपर्ने र समानान्तर समिति बनाउने कुरा साथीहरूले गरेको’ बताएका थिए।
उनले देउवालाई पार्टीभित्रका असन्तुष्टि सम्बोधन गर्न र सबैका कुरा सुन्न सुझाव दिएका थिए। देउवाले भ्रातृ संस्था लगायतका विषयमा देखिएको असन्तुष्टि सम्बोधन गर्ने र सबैलाई समेटेर लैजाने प्रतिबद्धता व्यक्त गरेको शेखर निकट स्रोतले जानकारी दियो।
चौधौं महाधिवेशनपछि कोइराला र देउवाको यो दोस्रो भेट हो। गत मंसिर अन्तिममा भएको महाधिवेशनमा कोइराला देउवासँग सभापतिमा पराजित भएका थिए।