काठमाडौं- नेपाली कांग्रेसको १४औं महाधिवेशनको निर्णयबाट अलग भएको घोषणा गरेका नेता रामचन्द्र पौडेलले गुट बिउत्याउने प्रयास गरेका छन्।
शुक्रबार आफू निकट नेताहरूलाई बोहोराटारमा बोलाएर पौडेलले गुट बिउत्याउने काशिश गरेका हुन्। काठमाडौंमा उपलब्ध केही नेता–कार्यकर्तालाई बोलाएर उनले संस्थापन इतर समूहको नेता आफू नै भएको दाबी गरेका छन्। बैठकमा सहभागी एक नेताका अनुसार देउवा इतरको नेता अहिले पनि आफू नै रहेको बताएका थिए।
‘संस्थापन इतरको नेता म नै हुँ, तपाईंको संरक्षण मैले मात्रै गर्न सक्छु,’ पौडेलको भनाइ उद्धृत गर्दै ती
नेताले भने। पौडेलले निर्वाचनको रणनीति तय गर्ने सन्दर्भमा नेताहरूसँग सुझावसमेत मागेका छन्।
छलफलमा सहभागी नेताहरूले स्थानीय निर्वाचनमा तालमेल गर्ने कुरा केन्द्रले लाद्न नसक्ने बताएका थिए। विधानले चार तहको संसदीय समितिको व्यवस्था गरेकाको भन्दै उनीहरूले केन्द्रबाट तालमेलको निर्णय गर्नु उचित नहुने बताएका थिए।
महाधिवेशन पछि पौडेल देउवाको सहयोगीको भूमिकामा देखा परेका थिए। उनले नेता–कार्यकर्तासँग छुट्टै बैठक समेत गरेका थिएनन्। तर, शुक्रबार उनले नेता–कार्यकर्तासँग छलफल गरेका हुन्। पौडेलले बोलाएको बैठकमा पूर्वमहामन्त्री डा. शशांक कोइराला, कानूनमन्त्री दिलेन्द्रप्रसाद बडू लगायतका नेता उपस्थित थिए।
केन्द्रीय सदस्य दीपक गिरी, नेता हृदय थानीलगायत उपस्थित थिए।