काठमाडौं- शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गतका निकायबाट प्राविधिक धारमा उत्पादन हुने एउटै तहका जनशक्ति र लगानीमा निकै भिन्नता भएपछि पाठ्यक्रम समायोजनको तयारी भएको छ।
प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) र शिक्षा तथा मानव स्रोत विकास केन्द्रबाट सञ्चालित प्राविधिक धारका कार्यक्रममा दुईथरी पाठ्यक्रम र दुईथरी जनशक्ति उत्पादन भएको विषयमा आलोचना हुन थालेपछि सरकारले पाठ्यक्रम समायोजनको तयारी गरेको हो।
सामुदायिक विद्यालयमा केन्द्रको अनुदानमा तयार गरिएको प्राविधिक धारको पाठ्यक्रम कक्षा नौ देखि १२ सम्म सञ्चालन हुँदै आएको छ भने तिनै
सामुदायिक विद्यालयमा कक्षा १० पछि सीटीईभीटीको तीनवर्षे डिप्लोमा कार्यक्रमअनुसार अध्ययन/अध्यापन हुने गरेको छ।
शिक्षा मन्त्रालयअन्तर्गतका केन्द्र र सीटीईभीटीमार्फत विद्यालयमा पाठ्यक्रम मात्र होइन, शिक्षकको अनुदान तथा तालिमसमेत फरक रूपमा सञ्चालन भइरहेको छ। सीटीईभीटीको कार्यक्रम सामुदायिक विद्यालय, उसका आङ्गिक तथा सम्बन्धन प्राप्त शिक्षालयमा सञ्चालन भइरहेका छन्। माध्यमिक तह (९-१२) मा ४८४ विद्यालयमा प्राविधिक धारका कार्यक्रम सञ्चालन गरिएको छ भने ५५० भन्दा बढी माविमा सीटीईभीटीको डिप्लोमा कार्यक्रम पठनपाठन भइरहेको छ।