बिहिबार, जेष्ठ १२, २०७९ | Thursday 26th May 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • तातोपानी कुण्ड जोड्ने सडक कालोपत्रे गर्न थालिएको छ
समाचार

तातोपानी कुण्ड जोड्ने सडक कालोपत्रे गर्न थालिएको छ

  • सिधा दृष्टी मङ्लबार, चैत्र ८, २०७८ | March 22, 2022

काठमाडौँ — प्राकृतिक उपचारस्थलका रूपमा रहेको म्याग्दीको बेनी नगरपालिका–४ स्थित तातोपानी कुण्ड जोड्ने सडक कालोपत्रे गर्न थालिएको छ ।

मार्ग खुलेको १५ वर्षपछि म्याग्दीको रणनीतिक महत्वको बेनी–दरबाङ सडकको बेनीबाट तातोपानी खण्ड कालोपत्रे गर्न सुरु भएको हो । मङ्गला, मालिका र धवलागिरि गाउँपालिकालाई सदरमुकाम बेनीसँग जोड्ने सडकमा कालोपत्रे गर्न सोमबारदेखि ‘प्राइम कोट’ बिछ्याउन थालिएको छ ।

पूर्वाधार विकास कार्यालय म्याग्दीका सडक इञ्जीनियर सञ्जय सुवेदीले सडक विस्तार, नाली, पर्खाल निर्माण र ग्राभेल सकेर कालोपत्रे गर्न प्राइम कोट राख्न थालिएको जानकारी दिए। ‘प्राइम

कोट हालेको २४ घण्टापछि बिटुमिन र चिप्स राखेर कालोपत्रे हुन्छ’, उनले भने, ‘बेनीबाट तातोपानी खण्डको नौ किलोमिटर सडक कालोपत्रेका लागि तयार भएको छ ।’

प्राइम कोट राख्नुअघि विभिन्न चरणमा रोडा, गिट्टी, बालुवा, ढुङ्गा र माटोलाई सडकमा पेलेर लेभल मिलाइएको थियो । ११ मिटर फराकिलो बनाएर सात मिटरका दरले कालोपत्रे गर्न लागिएको हो । ठेकेदार लामा–समानान्तरण निर्माण कम्पनीका आयोजना व्यवस्थापक राकेश सदाले चैत महिनाभित्र बेनीबाट तातोपानीको सडक कालोपत्रे गरिसक्ने बताए ।

‘कालोपत्रेका लागि आवश्यक सबै उपकरण र निर्माण सामग्री जुटाइसकेका छौँ’, उनले भने, ‘मौसमले साथ दिने हो भने चैतभित्र कालोपत्रे सकिन्छ । तातोपानीबाट सिमसम्मको थप तीन किलोमिटरमा पनि दैनिक १०० मजदुर परिचालन गरेर पर्खाल र नाली निर्माण भइरहेको छ।’

आयोजना व्यवस्थापक सदाले काम गरे पनि बजेट अभावमा पेश गरेको बिलको भुक्तानी पाउन नसकेको गुनासो गरे । हालसम्म ८० प्रतिशत भौतिक प्रगति भएको सदाले बताए ।

यही चैत मसान्तसम्म योजनाको सम्झौताको म्याद थपिएको छ । विसं २०७४ असोज ४ गते रु ४५ करोडमा ठेक्का सम्झौता भएको यो सडक २०७६ माघ ४ गते निर्माण सक्ने लक्ष्य थियो । सङ्घबाट प्रदेशमा हस्तान्तरण भएको सडकमा पर्याप्त बजेट विनियोजन नहुने, निर्माण कम्पनीले उपकरण र मजदुर परिचालन गर्न नसक्दा ढिलाइ भएको हो ।

म्याग्दीको ‘लाइफ लाइन’ मानिने विसं २०६३ मा मार्ग खुलेको बेनी–दरबाङ सडक बर्खामा बाढी र पहिराले दैनिकजसो अवरुद्ध र हिउँदमा धुलाम्मे हुन्छ । तत्कालीन सडक डिभिजन कार्यालय बागलुङले ठेक्का लगाएको यो आयोजना २०७५ पुसमा प्रदेश सरकारलाई हस्तान्तरण भएको थियो ।

आयोजनाको दोस्रो चरणमा लाम्पाटाबाट दरबाङसम्म आठ किलोमिटर खण्डसडक कालोपत्र गर्न २२ करोड ५७ लाख ९३२ मा २०७६ जेठ ३१ गते बिरुवा–क्याराभान जेभीले ठेक्का लिएको थियो । उसले हालसम्म ५० प्रतिशत निर्माण सकेको पूर्वाधार विकास कार्यालयले जनाएको छ ।

मङ्गला गाउँपालिकाको सिमबाट लाम्पाटासम्मको साढे दुई किलोमिटर सडक स्तरोन्नतिका लागि ठेक्का सम्झौता भएको पूर्वाधार विकास कार्यालयका निमित्त प्रमुख गुरुदत्त अधिकारीले बताए ।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय