काठमाडौँ —प्रहरी हिरासतमा रहेका अभिनेता पल शाहमाथि दोस्रोपटक लिइएको १२ दिनको समय शुक्रबार सकिँदै छ । तनहुँ जिल्ला अदालतले दोस्रोपटक फागुन २२ गते १२ दिनको समय दिएर शाहमाथि अनुसन्धानको समय दिएको थियो । तर यही बीचमा नवलपुरमा दर्ता भएको जबरजस्ती करणीको मुद्दामा अनुसन्धानका लागि फागुन २४ गते पल शाहलाई नवलपुर लगिएपछि तनहुँ प्रहरीले अनुसन्धानको बाँकी काम गर्न सकेको छैन । जसकारण पल शाहमाथिको अनुसन्धान अझै नसकिएको जिल्ला प्रहरी कार्यालय तनहुँ स्रोतले बताए छ ।
अनुसन्धानको समय नसकिएको भन्दै जिल्ला प्रहरी
कार्यालय तनहुँ सरकारी वकिलमार्फत अनुसन्धानको लाथि थप समय माग्ने तयारीमा रहेको बुझिएको छ । तनहुँ जिल्ला सरकारी वकिल कार्यालय स्रोतका अनुसार हालसम्म अनुसन्धानको लागि १९ दिनको समय लिइसकेको कारण अझै ६ दिन अनुसन्धानका लागि न्यायिक हिरासतमा राख्न पाइन्छ । यद्यपि जिल्ला सरकारी वकिल कार्यालयले भने थप अनुसन्धानका लागि ५ दिनको समय माग गर्न लागिएको बताएको छ । यदि अदालतले ५ दिनको समय दिएको अवस्थामा यो नै अन्तिमपटक म्याद थप हुनेछ । त्यसपछि अदालतमा अभियोग दर्ता भई थुनछेक बहस हुने जिल्ला सरकारी वकिल कार्यालयले जनाएको छ ।