शनिबार, अशोज १३, २०८० | Saturday 30th September 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • उम्मेदवार तय गर्ने पक्षमा कांग्रेसका नेताहरू
समाचार

उम्मेदवार तय गर्ने पक्षमा कांग्रेसका नेताहरू

  • सिधा दृष्टी बिहिबार, चैत्र ३, २०७८ | March 17, 2022

काठमाडौं । स्थानीय तहको निर्वाचनका लागि देशव्यापी अभियान थालेको नेपाली कांग्रेसले स्थानीय तह निर्वाचनमा पार्टी विधानले तोकेअनुसार नै उम्मेदवारहरूको तय विभिन्न संरचनाबाट लगाउने तयारी गरेको छ।

यसपालि केन्द्रबाट उम्मेदवार तय गर्ने पक्षमा कांग्रेसका नेताहरू छैनन्। ‘वडाध्यक्षलगायत उम्मेदवार कसलाई बनाउने वडामै छलफल गरेर सर्वसहमतिले टुंग्याउन सकिन्छ,’ प्रवक्ता प्रकाशरण महतले भने, ‘सहमतिमा उम्मेदवार छान्ने हो भने किन त्यहाँ त्यो उम्मेदवार छानेको भनेर माथिबाट कसैले केही भन्नेवाला छैन।’

वडाका लागि उम्मेदवार वडाबाटै तय हुन सकेन भने क्षेत्रीय समितिले निर्णय गर्नेछ। गाउँपालिकाको लागि उम्मेदवार

पनि कांग्रेसको गाउँपालिका समितिले नै टुंग्याउने छ।

विवाद भएको खण्डमा भने निर्णय गर्ने अधिकार जिल्ला कार्यसमितिलाई दिइएको छ। संसदीय बोर्डजस्तो सानो समिति बनाएर टिकटबारे निर्णय गर्न सक्ने अधिकार जिल्ला कार्यसमितिलाई छ।

नगरपालिकाको हकमा पनि उम्मेदवार तय गर्ने अधिकार नगर कार्यसमितिलाई नै छ। सहमति भएन भने सम्बन्धित प्रदेश कार्यसमितिबाट टुंगो लगाइने कांग्रेसले जनाएको छ।

उपमहानगर र महानगरका हकमा भने कांग्रेसले केन्द्रबाटै उम्मेदवार तय गर्छ। यद्यपी उपमहानगर र महानगर समितिले उम्मेदवार भने सिफारिस गर्छन्।

‘विवादास्पद निर्णय भयो भने मात्र केन्द्रले हस्तक्षेप गर्छ,’ महतले भने, ‘नत्र विधानअनुसार उम्मेदवारहरू सम्बन्धित पार्टी समितिबाटै हुन्छन्।’ आज देखि ‘घरघर जाऔं, कांग्रेस जिताऔं’ अभियान सुरु गरेको कांग्रेसले चैत २९ पछि उम्मेदवार तय गरेर दोस्रो चरणमा घरदैलो अभियान चलाउने तयारी गरेको छ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय