काठमाडौं- नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले नेपाली जनतामा विकास भन्दा पनि रमाइलोका लागि उखानटुक्कामा ताली पड्काउने गलत प्रवृत्ति विकास भएको बताएका छन्। काभ्रे बहुमुखी क्याम्पसको तेस्रो क्याम्पस सभालाई धुलिखेलमा सम्बोधन गर्दै नेता सिंहले यस्तो बताएका हुन्।
'नेपाली जनतामा विकासका कार्य भन्दा पनि उखानटुक्का रमाइलो लागेको भरमा ताली पड्काउने गलत प्रवृत्ति विकास भएको छ,' नेता सिंहले भने, 'नेपाली समाजलाई अगाडि बढाउनका लागि शिक्षालगायतका क्षेत्रमा राजनीतिभन्दा माथि उठेर सोच्नुपर्ने छ। राजनीतिक पार्टीहरुले विकासका गतिविधिमा 'बढी राजनीतिकरण' गर्न हुँदैन।'
राजनीतिक पार्टीहरुले
भाषणबाजी मात्र नभई शिक्षा, उद्योगजस्तो समाज रुपान्तरण गर्ने क्षेत्रमा विकासलाई गति दिने काम गरेर देखाउनु पर्ने बताए। अबको समय सूचना प्रविधि र आर्थिक विकासको रहेकाले शिक्षा क्षेत्रले यसमा ध्यान दिनुपर्ने उनको भनाइ छ।
फरक प्रसंगमा बोल्दै नेता सिंहले संविधानसभाबाट संविधान जारी गर्न फेल भएका नेतृत्वलाई पुन दुई तिहाई मत दिएर नेतृत्व सुम्पिँदा देशमा संघीयता संस्थागत हुन नसकेको आरोपसमेत उनले लगाएका थिए। संविधान जारी भए पछि बनेको दुई तिहाईको सरकारले अवसर सदुपयोग गर्न नसक्दा नेपालको प्रदेश सरकार साथै प्रहरी, प्रशासनिक क्षेत्रले धेरै दुख झेल्न बाध्य भएको उनको तर्क छ। यद्यपि अझै पनि प्राप्त उपलब्धिहरुलाई संस्थागत गर्न प्रमुख राजनीतिक शक्ति मिल्नुको विकल्प नरहेको उनको भनाइ छ।