मङ्लबार, चैत्र १४, २०७९ | Tuesday 28th March 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • अवसर प्राप्त हुन थालेपछि महिलाहरु पनि वन्यजन्तुको संरक्षणमा क्रियाशील भएर लाग्ने गरेका छन्
समाचार

अवसर प्राप्त हुन थालेपछि महिलाहरु पनि वन्यजन्तुको संरक्षणमा क्रियाशील भएर लाग्ने गरेका छन्

  • सिधा दृष्टी मङ्लबार, फाल्गुन २४, २०७८ | March 8, 2022

कसरा । अवसर प्राप्त हुन थालेपछि महिलाहरु पनि वन्यजन्तुको संरक्षणमा क्रियाशील भएर लाग्ने गरेका छन् । पछिल्लो दशकमा वन्यजन्तुको संरक्षणमा महिला सहभागिता बढेको पाइन्छ । जोखिमका बीच निकुञ्जको कोर इलाकामा महिलाहरु गस्तीमा जाने गरेका छन् ।

मेघौलीकी अमृता महतोले कसरामा माहुतेको रुपमा हात्तीको हेरचाह गर्दै आएकी छन् । उनले हात्ती चराउने, हात्तीको गोठ सरसफाइ गर्ने, दाना खुवाउने र गस्ती गर्नेलगायतका काम गर्छिन् । कसरा, हात्तीसारमा छवटा हात्ती छन् । एउटा हात्तीको हेरचाहमा तीन जना हात्तीसारे खटाइन्छ ।

उनले हात्तीको हेरचाह

र स्याहारसुसार गर्न थालेको पाँच वर्ष भइसक्यो । सुरूमा उनले हात्ती प्रजनन केन्द्र खोरसोरमा काम गर्थिन् । ‘खोरसोरमा हात्तीको तालिम लिएर हात्तीको कमान्डर भएर सौराहा गएँ । खोरसोरमा छ महिना बसेँ, सौराहामा एक वर्षजति बसेँ’, उनले भनिन् । सौराहामा पनि हात्तीलाई सिकाउने, हात्तीको गोठालो जाने, घाँस काटेर ल्याउने र हात्तीको स्याहारसुसार गर्ने गरेको उनले बताइन् । पछिल्लोपटक उनले कसरामा गर्न थालेको चार महिनाजति भयो ।

‘हाम्रा बुबाआमाले हामीलाई हात्तीसारमा नै जन्माउनुभयो । हात्तीको हेरचाह गर्न चाख पनि लाग्ने । लोकसेवा पास गरेरै हात्तीसारे गर्न आएको हो’, उनी भन्छिन्, ‘हात्ती चराउन लैजाँदा जंगली हात्ती ध्रुवे, रोनाल्डो भेटिन्छ । बाघ र गैँडा पनि भेटिन्छ ।’

जंगली हिंस्रक हात्ती पालुवा हात्तीको नजिक आएपछि आफूले हात्तीलाई तर्काएर हिँडाउनुपर्ने उनी बताउँछिन् । ‘जंगली हात्ती नजिकै आएको देखेपछि आफ्नो हात्ती भगाउनुपर्छ । जंगलभित्र ज्यान जोखिममा राखेर काम गर्नुपर्छ, गर्नै नसकिने भन्नेचाहिँ होइन’, उनले भनिन् । हात्तीसारे चौबिसै घन्टा ड्युटीमा खटिनुपर्छ ।

उनको परिवारमा श्रीमान्, दुई छोरी, एक छोरा र एक सासू छन् । श्रीमान्ले गाउँघरतिरै सवारी चालकको काम गर्छन् । श्रीमान्सँगको सहमतिमा नै आफूले हात्तीसारेको काम गरिरहेको उनी बताउँछिन् । चाडपर्व र विशेष काम परेको बेला घर जाने गरेको उनले बताइन् ।

तालिम लिएर काम सिकेपछि हात्तीको हेरचाह गर्न कुनै कठिनाइ नहुने उनी बताउँछिन् । उनले बिहान सर्वप्रथम हात्तीको गोठमा पुगेर गोठ सफा गर्छिन् । त्यसपछि हात्ती लिएर उनी घाँस काट्न जान्छिन् । घर आएपछि हात्तीसारे मिलेर घरआँगन सफा गर्ने र खाना पकाउने गर्छन् ।

आइतबारमात्रै उनीहरु बोटे सिमरा हात्ती पुर्याएर आएका हुन् । बिहान १० बजे हिँडेर हात्ती पुर्याएर बेलुका १० बजे आइपुगेको उनले सुनाइन् । कहिलेकाहीँ दिनभरि र रातभर पनि हात्ती गस्तीमा हिँड्नुपर्ने उनी बताउँछिन् ।

एकपटक गस्ती गर्दा पाँचदेखि १२ वटासम्म हात्ती प्रयोग हुन्छन् । सिउ गस्तीमा जाँदा धेरै हात्ती लगिन्छ । चोरीसिकारी नियन्त्रण र जंगलमा मरेका वन्यजन्तुको अनुगमन गर्दा सिउ गस्ती गरिन्छ । आवश्यकताका आधारमा निकुञ्जका सबै क्षेत्रमा गस्ती जानुपर्ने उनले बताइन् ।उनी गैँडा गणना गर्दा पनि गस्तीमा खटिएकी थिइन् । त्यतिबेला २२ दिनसम्म हात्ती लिएर गस्तीमा गएको उनले बताइन् । गैँडा गणनामा खटिएका ३० वटा हात्ती सम्मिलित एउटा समूहमा उनी एक्लो महिला माउते थिइन् ।

तीन वर्षअघि कसरा हात्तीसारमै काम गर्दा देवीकली र तमोरकली हात्तीको गोठालो जाँदा ध्रुवे हात्तीसँग जम्काभेट भएको उनले सम्झिइन् । ‘घडगाई पोस्टमा ध्रुवेसँग जम्काभेट हुँदा हामी ज्यान बचाउन हात्तीबाटै हाम फालेर पोस्टभित्र छिरेका थियौँ’, उनले भनिन्, ‘ध्रुवे दौडिएर हामी चढेकै हात्तीतिर आइरहेको थियो । हात्तीमाथि नै बसिराख्दा हाम्रो ज्यान जोखिममा पर्छ भन्ने भएपछि हामी हाम फालेर पोस्टमा गएर ज्यान बचायौँ ।’

ध्रुवे हिंस्रक जंगली हात्ती हो । यसले अहिलेसम्म नेपाल र भारतका गरी १६ मान्छेको ज्यान लिइसकेको छ । एकचोटि हात्तीलाई घाँस काट्न जाँदा जंगली हात्ती रोनाल्डोले लखेटेको पनि उनले बताइन् । ‘अस्ति भर्खरै गस्तीमा जाँदा नजिकै दुईवटा चितुवा भेट्यौँ । गस्तीमा जाँदा बाघ, हात्ती, गैँडा त भेटिरहन्छन् । अब त सामान्यजस्तो भइसक्यो’, उनले भनिन् ।
हात्तेसारेहरु पालैपालो गस्तीमा जाने गर्छन् । महिनावारी हुँदा महिलालाई गस्तीमा जान गाह्रो हुने उनले बताइन् ।

‘महिनावारी हुँदा दुई÷तीन दिन महिलालाई गाह्रो हुन्छ । ब्लिडिङ भइरहेको हुन्छ । त्यतिबेलाचाहिँ हामीले रेस्ट गर्न पाउछौँ’, उनले भनिन् ।

गौरीगाईको गणना हुँदा पनि उनी गस्तीमा गएकी थिइन् । त्यतिबेला तीन दिन गस्तीमा गएको उनले बताइन् । पाँच वर्षमा प्रेरणाकली, देवीकली, तमोरकली, लक्ष्मीकली र अम्बेकली गरी पाँचवटा हात्ती चलाएको उनी बताउँछिन् ।
‘अरुले चलाएको हात्ती मैले चलाउन सक्दिनँ र मैले चलाइरहेको हात्ती अरुले चलाउन सक्दैन’, उनले भनिन् । जंगली हात्ती देखेपछि घरपालुवा हात्तीले आवाज दिएर सङ्केत दिन्छ ।

क्षमताको विकास गर्न सके महिलाले पनि हात्ती चलाउन सक्ने उनले बताइन् । पछिल्लो १० वर्षदेखि मात्रै महिलालाई पनि हात्तीसारेमा राख्ने गरिएको हो । हात्तीसारेका लागि महिलालाई छुट्टै कोटाको व्यवस्था गरिएको छ । तर, महिलालाई कम सिटको व्यवस्था गरिएको उनी बताउँछिन् । ‘एकपटकमा तीन जना महिलाका लागिमात्रै भनेर सिट छुट्टयाइन्छ । पुरूषहरु भने १५ देखि २० जनासम्म पनि हुन्छन्’, उनले भनिन् ।

धादिङ, त्रिपुरासुन्दरीकी पार्वती थापा पनि वन्यजन्तुको संरक्षणका लागि निकुञ्जभित्र नियमितजसो गस्तीमा जाने गर्छिन् । गैँडाको खाग चोरी निकासीमा संलग्नलाई पक्रेर ल्याउँदा रातभर खोलाको किनारमा बस्नु परेको उनको नराम्रो किस्सा छ । चार महिनाअघि माडी घाँघरका एक जना प्रतिवादी लिएर फर्किने क्रममा खोला बढेर रातभर खोलामा बास बसेको उनले सुनाइन् ।

‘दुई जना प्रतिवादीलाई लिन गएका थियौँ । एक जना भागिहाल्यो, एक जनालाई चाहिँ समात्यौँ’, उनी भन्छिन्, ‘राति ११ बजेतिर गएकाथियौँ । पानी ठूलो परेको थियो । जाँदा त जसोतसो खोला तर्यौ। फर्किंदाचाहिँ तर्न सकेनौँ । हामीसँग चोर पनि सँगै थिए । रातभर खोलामै बसेर बिहान ४ बजेतिर बल्ल आयौँ ।’

निकुञ्जको हेडक्वार्टर कसरामा बसेर गेम स्काउटका रुपमा काम गरिरहेकी उनी निकुञ्जको सबैजसो स्थानमा गस्ती गएकी छन् । डुङ्गा, साइकल र जिपमा गस्तीमा जाने गरेको उनले बताइन् । त्यस्तै, राप्तीमा राति राति माछा मार्ने मान्छेलाई पक्राउ गर्न जाँदा गैँडासँग जम्काभेट भएको उनी स्मरण गर्छिन् ।

‘हामी आर्मी र प्रशासनको टिम भएर डुङ्गामा जाँदै थियौँ । हामीले त गैँडा नै देखेका थिएनौँ । बच्चासँगको गैँडा रहेछ । आर्मीको डुङ्गामा ठोक्किएर बच्चाचाहिँ जंगलतिर गयो । माउ पनि बच्चाकै पछि लाग्यो । बच्चा हामितिर आएको भए के हुन्थ्यो थाहा छैन’, उनले भनिन् ।

बाघको सर्वेक्षणका बेला उनको २० दिनसम्म जंगलमा बास भएको थियो । बाघ सर्वेक्षणका लागि राखिएका क्यामराको अनुगमन गर्ने उनीहरुको टिमको जिम्मा थियो । त्यहाँ उनीहरुले बाघचाहिँ देखेनन् । गस्तीमा जाँदा ध्रुवे हात्ती देख्यो भने अझै पनि डर लाग्ने उनी बताउँछिन् ।

उनले निकुञ्जमा गस्तीको काम गर्न थालेको तीन वर्षमात्रै भयो । त्यसअघि बाँदरबाहेक जंगली जनावर नदेखेकी उनले निकुञ्जमा सबै जनावर देख्न पाइन् । सुरू–सुरूमा घरपालुवा हात्ती देख्दा पनि डर लागेको उनले बताइन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय