सोमवार, जेष्ठ १५, २०८० | Monday 29th May 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • राष्ट्रपति विद्यादेवी भण्डारीले महिलामाथि हुने सबै किसिमका विभेदलाई जरैदेखि उन्मूलन गरी सभ्य र सुसंस्कृत समाज निर्माणको प्रण सबैले गर्नुपर्नेमा जोड दिएकी छन्
समाचार

राष्ट्रपति विद्यादेवी भण्डारीले महिलामाथि हुने सबै किसिमका विभेदलाई जरैदेखि उन्मूलन गरी सभ्य र सुसंस्कृत समाज निर्माणको प्रण सबैले गर्नुपर्नेमा जोड दिएकी छन्

  • सिधा दृष्टी मङ्लबार, फाल्गुन २४, २०७८ | March 8, 2022

काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीले महिलामाथि हुने सबै किसिमका विभेदलाई जरैदेखि उन्मूलन गरी सभ्य र सुसंस्कृत समाज निर्माणको प्रण सबैले गर्नुपर्नेमा जोड दिएकी छन् ।

११२ औँ अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा मंगलबार दिएको शुभकामना सन्देशमा उनले परम्पराकै नाममा कायम रहेका कतिपय अन्धविश्वास र कुप्रथालाई अन्त्य गर्नुपर्ने तथा महिला सशक्तिकरण, सहभागिता र समानताका विषयमा महिला र पुरुष दुवैको समान र सक्रिय भूमिका अत्यावश्यक रहेको बताएकी छन् ।

अन्तर्राष्ट्रिय महिला दिवसले महिलाविरूद्ध हुने सबै प्रकारका हिंसा, विभेद, उत्पीडन एवं समाजमा विद्यमान विकृत

प्रथा र परम्परालाई निर्मूल गर्दै समानता र न्याय सुनिश्चत गर्ने यात्रामा निरन्तर लागिरहन हामी सबैमा थप ऊर्जा र उत्साह प्राप्त हुन सकोस् भन्ने शुभकामना राष्ट्रपतिले व्यक्त गरेकी छन् ।

स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनीहरूमा सुख, शान्ति र समृद्धिको कामना गर्दै सन्देशमा उनले नेपाली जनताको दशकौँ लामो राजनीतिक आन्दोलनको प्रतिफलस्वरूप महिला सशक्तिकरणको क्षेत्रमा प्राप्त उपलब्धी विश्व महिला आन्दोलनका लागि प्रेरक मानिएका सन्देशमा उल्लेख गरेकी छन् ।

‘महिला सहभागिता र प्रतिनिधित्व सुनिश्चित गर्न हामीले संविधानमार्फत आधारभूत व्यवस्थाहरू गरी विभिन्न कानूनसमेत अभ्यासमा ल्याएका छौँ । फलतः मुलुकका तीनै तहका सरकार, संसद् र नीति निर्माणका निकायमा महिलाको नेतृत्वदायी भूमिका सुदृढ भएको छ । पछिल्लो समयमा लैङ्गिक समानताका विभिन्न सूचकहरूमा नेपालले प्रगति गर्दै आएको देखिएकाले हाम्रा प्रयासहरू परिणाममुखी हुने चरणमा छन् भन्न सकिन्छ । यसबाट नेपाली महिलाहरूको प्रतिष्ठा क्रमशः अभिवृद्धि हुँदै गएको छ भन्ने मलाई लाग्दछ’ राष्ट्रपतिले सन्देशमा भनेकी छन् ।

यस वर्षको अन्तर्राष्ट्रिय महिला दिवसका सन्दर्भमा नेपालले ‘सामाजिक न्याय र लैङ्गिक समानता : दीगो विकासको सुनिश्चितता’ भन्ने राष्ट्रिय लक्ष्य तय गरेको तथा त्यसको अभिप्राय महिलाहरूको आर्थिक, सामाजिक तथा संरचनात्मक रूपान्तरणद्वारा मुलुकको समृद्धि र दीगो विकासतर्फ अग्रसर रहनु हो भन्ने आफूलाई लागेको उनले सन्देशमा उल्लेख गरेकी छन् ।

विश्व महिला आन्दोलनले हालसम्म प्राप्त गरेका उपलब्धीहरूलाई संस्थागत गर्दै लैङ्गिक समानता हाँसिल गर्ने उद्देश्यसहित हरेक वर्ष ८ मार्चलाई अन्तर्राष्ट्रिय महिला दिवसका रूपमा मनाइन्छ ।

यस्तै उपराष्ट्रपति नन्दबहादुर पुनले संविधानप्रदत्त महिला अधिकारको कार्यान्वयन गर्दै महिलाको सर्वाङ्गीण विकासका लागि सबै क्षेत्रको ध्यान जानुपर्ने बताएका छन् । अन्तर्राष्ट्रिय महिला श्रमिक दिवसका अवसरमा मंगलबार सन्देश दिँदै उनले आजको दिनले नेपाली महिला र देशको सर्वाङ्गीण विकासका लागि एकताबद्ध भएर अगाडि बढ्न सबै नेपालीलाई प्रेरणा मिल्ने अपेक्षा गरेका छन् ।

महिला राजनीतिक, सामाजिक तथा आर्थिकरूपमा स्वतन्त्र र सशक्त नभएसम्म देशको समृद्धि सम्भव नभएको उल्लेख गर्दै उपराष्ट्रपतिले महिलाको हक–अधिकारका लागि सबै लाग्नुपर्ने बताएका छन् ।

यसैगरी सभामुख अग्निप्रसाद सापकोटाले ११२ औँ अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा सम्पूर्ण दिदीबहिनीहरूमा हार्दिक बधाई एवं शुभकामना व्यक्त गरेका छन् । उनले महिलाको समान अधिकार स्थापित गर्दै सम्मानित जीवनको सुनिश्चितताका लागि जीवन उत्सर्ग गर्नुहुने सबैप्रति उच्च सम्मानसहित भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय