काठमाडौं– स्वास्थ्य मन्त्रालयले कोभिड–१९ को संक्रमण दर घटेको भए पनि जोखिम कायमै रहेकाले जनस्वास्थ्यको मापदण्ड अपनाउन आग्रह गरेको छ।
पछिल्ला हप्ताहरुमा कोभिड–१९ को संक्रमण दर, अस्पताल भर्नाको दर र संक्रमित भई मृत्यु हुनेको दरमा कमी आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले बताए।
तीव्र रुपमा कोभिड–१९ विरुद्धको खोप अभियान सञ्चालन भएका कारण पनि संक्रमण दरमा कमी आएको उनको भनाइ छ। अफ्रिकी देशहरुमा खोप अभियान कम सञ्चालन भएका कारण ती देशहरुबाट कोभिड–१९ को नयाँ–नयाँ भेरियन्टहरु जन्मिन सक्ने भएकाले
अझै पनि संक्रमणको जोखिम नटरेको उनले बताए।
अधिकारीले संक्रमण कम हुँदा सावधानी अपनाउन छाड्ने गर्नाले नयाँ भेरियन्ट आउनासाथ एकैचोटी संक्रमित पारिहाल्ने अवस्था रहेको उल्लेख गरे। विश्वभरको अवस्था र विगतको दृष्टान्त हेर्दा संक्रमण कम भए पनि अझै संक्रमणको जोखिम धेरै रहेको सहायक प्रवक्ता अधिकारीले बताए।
उनले भने, ‘अहिले पनि केही देशमा संक्रमण उकालो लागेको जस्तो देखिन थालेको छ। त्यसले गर्दा हामीले निगरानी एकदमै बढाउनुपर्ने अवस्था छ। हामीकहाँ संक्रमण कम हुँदै गएपछि सावधानी कम हुँदै जाने, भेटघाट बढ्दै जाने, जनस्वास्थ्यको मापदण्ड पालना नहुने समस्या छ। यस्तो अवस्थामा नयाँ किसिमको भेरियन्ट आउने बित्तिकै तिव्र गतिमा फैलिने जोखिम रहन्छ।’
आगामी दिनमा हुनसक्ने सम्भावित जोखिम र संक्रमणबाट बच्नका लागि बिगतमा गरिएजस्तै कडा रुपमा जनस्वास्थ्यको मापदण्ड पालना गर्नुपर्नेमा उनले जोड दिए। जनस्वास्थ्यका मापदण्डको पालना गर्नाले कोभिड–१९ को मात्रै नभई अन्य प्रकारको संक्रामक रोगहरुबाट समेत बच्न सकिने भएकाले मापदण्ड परिपालनामा निरन्तरता दिनुपर्ने उनको सुझाव छ।
सहायक प्रवक्ता डा. अधिकारीले कोभिड–१९ को नयाँ भेरियन्ट आएको खण्डमा पनि खोप र जनस्वास्थ्यको मापदण्डले नै जोखिम कम गर्ने अवस्था रहेको बताए। संक्रमण दर घटेसँगै मन्त्रालयले गर्ने सबै प्रकारका स्वास्थ्य सँग सम्बन्धित कामहरु पूर्ण रुपमा सुचारु भएको उनले जानकारी दिए।