मधेश प्रदेश । एकजना महिला प्रहरीलाई आफ्नै हाकिमले यौन दुव्र्यवहार गरेको विषय बाहिरिएको छ । जानकी मेडिकल कलेज धनुषामा सुरक्षार्थ खटिएका महिला प्रहरीलाई आफ्नै इन्चार्ज प्रहरी निरीक्षकले यौन दुर्व्यवहार गरेको खुलेको हो । इलाका प्रहरी कार्यालयका इन्चार्ज प्रहरी निरीक्षक बेचन यादवले महिला प्रहरीलाई दुर्व्यवहार गरेको भन्दै उनीमाथि छानबिन शुरु गरिएको छ । यादवले सार्वजनिक स्थलमै यौन दुर्व्यवहार गरेको भन्दै पीडित महिला प्रहरीले जिल्ला प्रहरी कार्यालय धनुषामा उजुरी गरेकी थिइन् । जानकी मेडिकल कलेजमा सञ्चालन भइरहेको परीक्षाको सुरक्षार्थ खटिएका महिला प्रहरीलाई
भीडभाडमै बर्दी तानेर भित्री लुगामा हात लगाएको भन्दै जिल्ला प्रहरी कार्यालयमा उजुरी परेको हो । त्यस विषयमा छानबिन गर्नका लागि समिति गठन गरिएको छ ।
ड्युटीको क्रममा पटक पटक गलत नियतले शरीरका अंगहरूमा हात लगाउने तथा अपमानजनक व्यवहार गर्ने गरेका प्रहरी निरीक्षक यादवले परीक्षा केन्द्रमा खटिएको बेला बर्दी तानेर भित्री वस्त्रमा हात लगाएको पीडित महिला प्रहरीले उजुरीमा उल्लेख गरेकी छन् । प्रहरी निरीक्षक यादवले भने ड्युटीको समयमा ननिदाउन र राम्रोसँग लुगा लगाउन मात्रै आफूले आग्रह गरेको जिकिर गरेका छन् । जिल्ला प्रहरी कार्यालयमा प्रहरी निरीक्षक यादव विरुद्ध महिला प्रहरीले दिएको उजुरीको छानबिन भइरहेको प्रहरी उपरीक्षक बसन्त रजौरेले बताए । घटनाबारे छनबिन भइरहेको र सत्यतथ्य छानबिनपछि मात्रै सकिने बताइएको छ । प्रहरीको आन्तरिक विषय रहेकोले छानबिनपछि मात्रै भन्न सकिने प्रहरीले जनाउको छ ।