काठमाडौं- राष्ट्रिय क्रिकेट टोली तीन महिनादेखि प्रशिक्षणविहीन छ। गएको भदौ दोस्रो साता आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत राष्ट्रिय टिम ओमान भ्रमणमा रहँदा तत्कालीन प्रशिक्षक डेभ ह्वाट्मोरले उतैबाट राजीनामा पठाएका थिए।
नेपाल क्रिकेट संघ (क्यान)का अध्यक्ष चतुरबहादुर चन्दले ह्वाट्मोरलाई नै नेपाल फर्काउने प्रयास पनि गरेका थिए। तर, चन्दबाटै रुष्ट बनेका वाट्मोरले आफू नेपाली टोलीको प्रशिक्षण सम्हाल्न नसक्ने बताएका थिए। बरु क्यानका पदाधिकारी परिवर्तन भएमात्र नेपाल फर्कनसक्ने बताए। उनी ओमानबाट क्रिकेट टोलीसँग नेपाल नआइ बिदा भए।
त्यसलगत्तै क्यानले नयाँ प्रशिक्षक भित्र्याउने जनाएको थियो।
यो अवधिमा नेपालको कुनै अन्तर्राष्ट्रिय प्रतियोगिता थिएन। प्रशिक्षक भित्र्याउने प्रक्रिया बल्ल अन्तिम चरणमा पुगेको छ। क्यानले गरेको सार्वजनिक आह्वानअनुसार दरखास्त दिनेमध्ये छनोटमा परेका प्रशिक्षकसँग छनोट समितिले बुधबार 'भर्चुअल' अन्तर्वार्ता लिएको छ।
गएको कात्तिक १ मा मुख्य प्रशिक्षकका लागि दरखास्त आह्वान गरिएको थियोे। तोकिएको मितिभित्र ६० जनाको आवेदन परेको थियो। त्यसमध्ये क्यानले १५ जनाको अन्तर्वार्ता लिने तयारी गरेको थियो। तर, छनोट समितिले सात जनालाई मात्र अन्तर्वार्ताका छनोट गरेको थियो।
आवेदन दिन सात जनामध्ये बुधबार राति १० बजेसम्ममा पाँच जनाले मात्र अन्तर्वार्ता दिए। उनीहरुसँग क्यानका कार्यवाहक सचिव प्रशान्तविक्रम मल्ल, कोषाध्यक्ष रोशनबहादुर सिंह, महाप्रबन्धक रौनक मल्ल, क्रिकेट म्यानेजर विनोद दास र अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)का प्रतिनिधिले अन्तर्वार्ता लिएका थिए।
‘मुख्य प्रशिक्षका लागि अन्तर्वार्ता सकिएको छ। अब हामी प्रशिक्षकको माग र हाम्रो सीमितताका विषयमा छलफल गर्नेछौं,’ मुख्य प्रशिक्षक छनोट समितिका सदस्य तथा क्रिकेट म्यानेजर विनोद दासले भने, ‘सबै कुरा सकिन तीन-चार दिन लाग्छ। त्यसपछि मात्र मुख्य प्रशिक्षकको टुङ्गो लाग्नेछ।’
क्यानले पाँचमध्ये तीन जनाको सूची आईसीसीलाई पठाउनेछ। मुख्य प्रशिक्षकको अन्तिम टुङ्गो भने आईसीसीले लगाउनेछ। तर, प्रशिक्षकको तलबलगायत सेवा सुविधाको टुड्गो भने क्यानले लगाउनु पर्नेछ।