धनुषाको मिथिला विहारी नगरपालिका वडा नम्बर–३ स्थित श्री मिथिलेश्वरको मौवाहीस्थित मिथिलेश्वर माध्यमिक विद्यालयका विद्यार्थी आन्दोलित भएका छन् ।
विद्यालयका प्रधानाध्यापक लालबाबु यादवले विद्यालयमा पठनपाठन नगराई राजनीति गर्ने अखडा बनाएको र विद्यार्थीको भविष्यसँग खोलवाड गर्ने प्रवृति हावी भएको भन्दै उनीहरू आन्दोलित भएका हुन् ।
प्रधानाध्यापक यादवको कालो कर्तुत तथा भ्रष्ट आचरणविरुद्ध आफूहरूले आन्दोलन गरेको विद्यार्थीहरूले बताएका छन् । नाम उल्लेख नगर्ने सर्तमा एक जना विद्यार्थीले भने, ‘प्रधानाध्यापक यादवले विगतमा पनि थुप्रै भ्रष्टाचार गरेपछि उनलाई उनको गृहगाउँ रमौलस्थित विद्यालयबाट समेत स्थानीयले लखेटेका
थिए । विद्यालयलाई राजनीतिको अखडा बनाइ शिक्षास्तर धारासायी बनाएका उनले विगत ५ वर्षदेखि स्कुलको हरहिसाबसमेत हालसम्म विभिन्न बहाना र विभिन्न राजनीतिक संरक्षणका कारण पारदर्शी गरेका छैनन् ।’
विद्यालयद्वारा विद्यार्थीलाई दिने गरिएको दिवा खाजामा पनि व्यापक अनियमितता देखिएको विद्यार्थीको गुनासो छ । विद्यार्थी त्यसविरुद्ध गुनासो गर्दा प्रधानाध्यापक यादवले गुण्डा प्रवृत्ति देखाएपछि आफूहरू आन्दोलित भएको उनीहरूले बताएका छन् ।
गाउँका भद्रभलाद्मीले विगत ४ वर्षदेखि हरहिसाब माग्दा उनले पटक पटक समय मात्र दिने गरेको र दबाब बढाएपछि गत असोज ११ गते लिखित सम्झौताअनुसार कात्तिक २३ गते सम्पूर्ण हरहिसाब सार्वजनिक गर्ने प्रतिबद्धता जनाए पनि कात्तिक ५ गते वार्षिक प्रतिवेदन मात्र प्रस्तुत गरेको स्थानीय संजय ठाकुरले बताए ।
त्यसपश्चात उनको विरोध गर्दा उनले दुई दिनभित्र हरहिसाब सार्वजनिक गर्ने बताए पनि पछि एक महिनासम्म बिरामी बिदा लिएर घर बसेको संजयले बताए । बिरामी बिदा लिएर घर बसेका प्रधानाध्यापक यादव कात्तिक महिनाभर गायब भएको उनको गुनासो छ ।
उनको क्रियाकलापदेखि रुष्ट बनेका केही शिक्षकलाई उनका समर्थक शिक्षकहरूले अभिभावकलाई धाक धम्की र दबाबसमेत दिएको बताइएको छ ।
प्रधानाध्यापक यादवको मनोमानीका कारण अहिले सो विद्यालयको सम्पूर्ण शैक्षिक क्रियाकलाप ठप्प रहेको छ । विद्यालयमा करिव १ हजार ४ सय विद्यार्थी अध्ययनरत छन् । यस सम्बन्धमा बुझ्न प्रधानाध्यापक यादवसँग सम्पर्क गर्दा सम्पर्क हुन सकेन ।