जनकपुरधाम - नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले संविधानको सफल कार्यान्वयनका लागि कांग्रेस ड्राइभिङ सिटमा आउनु आवश्यक रहेको बताएका छन्। उपसभापति निधिले संविधानको सफल कार्यान्वयन कांग्रेसले मात्रै गर्न सक्ने भएकाले देशको नेतृत्व गर्नका लागि कांग्रेस ड्राइभिङ सिटमा आउनु आवश्यक रहेको बताए।
कांग्रेस प्रदेश २ को अधिवेशनमा प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै उपसभापति निधिले सबै जात, धर्म, मधेसी, आदिवासी, जनजाती लगायतका वर्गको समान प्रतिनिधित्व गराउनका लागि कांग्रेसले सरकारको नेतृत्व पाउनु पर्ने बताए।
उनले भने, ‘मधेसी, आदिवासी, जनजाती तथा सबै धर्मको प्रतिनिधित्व गराउनका लागि
कांग्रेस गम्भिर छ, यसका लागि सरकारको नेतृत्व बहुमतले कांग्रेसले पाउनु पर्छ।’
उनले कांग्रेसको जारी महाधिवेशनलाई आगामी निर्वाचनसँग जोडेर हेर्नका लागि समेत कार्यकर्ताहरुलाई आग्रह गरे।
आगामी निर्वाचनको अहिलेदेखि नै तयारी शुरु गर्न अनुरोध गर्दै निधिले भने, ‘कम्युनिस्टहरु वा तथाकथित मधेसवादी दलहरुले संविधानको सफल कार्यान्वयन गराउन सक्दैनन्, कांग्रेसले मात्रै गर्न सक्छ। मधेसी जनताको अधिकार सुनिश्चित गराउन संविधान संशोधनका लागि कांग्रेस तयार छ।’
एक अर्को प्रसंगमा नेता निधिले नेपाली कांग्रेस अब गठबन्धनमा चुनाव नलड्ने संकेत समेत गरे।