नेपाल भ्रमणमा रहेका बाबा रामदेवले शुक्रबार एकसाथ दुई टेलिभिजन च्यानल उद्घाटन गरे । पतञ्जली योगपीठ सञ्चालक रहेको भनिएको सो टेलिभिजन च्यानलको उद्घाटन प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवाले गरेका थिए । उक्त कार्यक्रममा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधव कुमार नेपाललगायत सहभागी थिए भने सोही कार्यक्रममा प्रचण्डले रामदेवलाई एक क्रान्तिकारी र वैज्ञानिक व्यक्तित्वको उपमा दिँदा देउवाले त रामदेवको पतञ्जली योगपीठलाई सरकारले जग्गा उपलब्ध नै गराउने घोषणा गरिदिए ।
देउवाको सो अभिव्यक्तिलाई दिएर सामाजिक सञ्जालमा व्यापक टिकाटिप्पणी भएको छ भने कतिपयले रामदेवले कतिपय उत्पादनमार्फत भ्रमको खेती समेत गर्दै आएको भन्दै एक व्यापारीलाई जग्गा दिने भनेर सरकारले कुन आधारमा भन्यो भन्दै प्रश्न समेत गरेका छन् ।
उसो त सञ्चारमाध्यममा विदेशी लगानी निषेध भएको सन्दर्भमा रामदेवले कसरी टेलिभिजन खोले भन्नेबारे पनि प्रश्न उठिरहेको छ । रामदेवको टेलिभिजन नेपालको आधिकारिक निकायमा दर्ता नभएको समेत खबर बाहिरिएको छ ।
यसबारे प्रचण्डले चितवनमा शनिबार सञ्चारकर्मीहरुसँग कुरागर्दै आफूले रामदेवको प्रशंशा गरेको तर दर्ताबारे आफूलाई थाहा नभएको प्रतिक्रिया समेत दिएका छन् ।