रौतहट । रौतहटमा धामी हत्याको आरोपमा तीन जना पक्राउ परेका छन् ।
धामी झाँक्रीको काम गर्दै आएका चन्द्रपुर नगरपालिकाका-५० वर्षीय रोहिणीप्रसाद घोरासैनीको शव २६ भदौमा गैंडाटारस्थित कालापानी सामुदायिक वनभित्र रुखमा झुण्डिएको अवस्थामा फेला परेको थियो ।प्रहरीले घटना शंकास्पद रहेको भन्दै अनुसन्धानका लागि नवलपरासी पूर्वका सूर्यबहादुर भण्डारी, चन्द्र नगरपालिका, गैंडाटारका प्रल्हाद फुयाँल र पर्साको पर्सागढी नगरपालिकाका रमेश पहरीलाई पक्राउ गरेको छ ।
प्रहरीले शुरुमा पर्साका २४ वर्षीय रमेश पहरीलाई पक्राउ गरेको र उनको वयानका आधारमा अरु दुई जना पक्राउ परेका हुन्
। रौतहटका प्रहरी उपरीक्षक विनोद घिमिरेका अनुसार पहरीले कप्तान टोलका सहदेव भन्ने डोलप्रसाद बोलखेको योजनामा घटना भएको बताएका छन् ।
बोलखेको परिवारका सदस्य बिरामी भएको दोष धामीलाई लगाएर हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट देखिएको घिमिरेको भनाइ छ । बोलखेले घोरासैनीको हत्याका लागि ३ लाख रुपैयाँ दिएको पनि अभियुक्तहरुले बयानका क्रममा बताएको एसपी घिमिरेले बताए ।
पक्राउ परेका तीनैजनालाई ज्यानसम्बन्धी मुद्दामा अनुसन्धानका लागि थुनामा राख्न जिल्ला अदालतबाट अनुमति लिएको प्रहरीले जनाएको छ । सहदेव भन्ने डोलप्रसाद बोलखे फरार रहेकोले उनको खोजीकार्य भइरहेको प्रहरीको भनाइ छ ।