काठमाडौं । ३५ वर्षीया गायिका इन्दिरा जोशीले फेसन डिजाइनर शरद केडियासँग इन्गेजमेन्ट गरेकी छन् । केही समययता प्रेममा रहेका उनीहरूले हिजो खुम्बु पुगेर बिहे पक्का गरेका हुन् । इन्दिरा र शरदले औँठी साटेको भिडियो टिकटकमा छ्यापछ्याप्ती छ । उनीहरूबीच इन्गेजमेन्ट भएको भिडियो क्याप्टेन विवेक थापाले आफ्नो टिकटक अकाउन्टमा पोस्ट गरेका छन् । इन्दिरा र शरद हेलिकप्टरबाट खुम्बु क्षेत्र पुगेका थिए ।
भिडियोमा इन्दिराले शरदलाई औँठी लगाइदिएको देख्न सकिन्छ । अब रोचक के भने, इन्दिरालाई चाहिँ शरदले गत फागुनमै औँठी लगाइदिएका
थिए । तस्वीर इन्दिराले आफैँ सार्वजनिक गरेकी थिइन् । भ्यालेन्टाइन डेको तीन दिनपछि इन्दिराले फेसबुकमा औंठी लगाइरहेको फोटो पोस्ट गरेकी थिइन् । तर, त्यसमा शरद देखिएका थिएनन् । इन्दिराका अनुसार उनीहरू अढाइ वर्षदेखि प्रेममा छन् ।
रातो घाँघरा बोलको गीतबाट चर्चामा आएकी उनी अहिले नेपाल आइडलकी जज पनि हुन् । नवलपरासीको परासी बजारमा २०४३ सालमा जन्मिएकी इन्दिरा बुवाआमाका पाचौँ सन्तानका रूपमा जन्मिएकी थिइन् ।