काठमाडौं । एकै परिवारका ६ जना सदस्यको हत्या भएको संखुवासभाको सामूहिक हत्या काण्डमा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ । यसअघि मुख्य आरोपीका रुपमा सार्वजनिक गरिएका २५ वर्षीय लोकबहादुरका भाइ नरेशलाई पनि नियन्त्रणमा लिइएको प्रहरीले जानकारी दिएको छ ।
‘अनुसन्धानका क्रममा लोकबहादुरका भाइलाई पनि आवश्यक सोधपुछ गर्नुपर्ने देखिएपछि नियन्त्रणमा लिएको प्रहरीको भनाइ छ । प्रहरीकाअनुसार सामूहिक हत्यामा ज्यान गुमाउने मध्ये एक जनाको मोबाइल लोकबहादुरको घरबाट बरामद भएको छ र नरेशले मोबाइल लुकाएको हुनसक्ने आशंका छ ।
लोकबहादुरले ६ जनाको
हत्या गर्दा उनी पनि घटनास्थल आसपासमै रहेको हुनसक्ने प्रहरी अनुमान छ । घटनापछि उनले मोबाइल चोरेर लगेको हुनसक्ने प्रहरी स्रोत बताउँछ ।
संखुवासभाको मादीमा २१ भदौमा ८४ वर्षीय पार्वती कार्की, ५२ वर्षीय तेजबहादुर कार्की, ५२ वर्षीया कमला कार्की, तेजबहादुरकी बुहारी ३२ वर्षीया रञ्जना कार्की, नाती ११ वर्षीय दिपेन र नातिनी ७ वर्षीया गोमाको शव भेटिएको थियो ।
अनुसन्धानका क्रममा छिमेकी लोकबहादुरले आफूलाई हेला गर्ने गरेका कारण चिर्पट प्रहार गरेर तेजबहादुरको हत्या गरेको खुलेको थियो । त्यसक्रममा घरका अन्य सदस्यले देखेपछि सबैलाई हत्या गरेको साबिती बयान लोकबहादुरले दिएको प्रहरीले जनाएको छ ।
घटनाबारे प्रहरीले विस्तृत अनुसन्धान गरिरहेको जनाएको छ ।